logo
२०८१ बैशाख १४ शुक्रवार



वैदेशिक रोजगारमा जानेलाई खोप दिइने

अर्थ |


वैदेशिक रोजगारमा जानेलाई खोप दिइने


सीता शर्मा

काठमाडौँ, असार २९ गते । सरकारले खोप अनिवार्य गरेका वैदेशिम रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणको प्राथमिकतामा उनीहरुलाई राखेको हो ।
खोप मङ्गलबारदेखि दिइने बताइएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहभालकलाई पनि खोप दिइने जनाइएको छ ।
खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु समस्यामा रहेका थिए । खाडी मुलुकहरुले खोप नलगाएका श्रमिकलाई १० दिन होटल क्वारेीनटनमा बस्नु पर्ने र खर्च पनि स्वयंले व्यहोर्नु पर्ने नियम बनाएका थिए ।
कतारबाट घर बिदामा आउनुभएका बाग्लुुङका विशाल अधिकारीको कम्पनीले दिएको बिदा सकिएको एक महिना भइसक्दा पनि जान नपाएको बताउनुभयो । श्रमिक अधिकारीले भन्नुुभयो, “कतार गएर होटल क्वारेन्टाइनमा बसेको पैसा तिर्नसक्ने अवस्था छैन । त्यसैले सरकारले हामीजस्ता श्रमिकका लागि खोपको व्यवस्था गरिदिए हुन्थ्यो । ”
“स्वदेशमै केही गरौँ भने पनि लगानी गर्ने पैसा छैन । ऋण गरेर स्वदेशमै केही गरौँ भने पनि कसैले पत्याउँदैन,” अधिकारी भन्नुुभयो, “विदेश नगई उपाय नै छैन, नगए कसरी घर चलाउने र ? सरकारले हामीजस्ताका लागि जसरी पनि आएका खोपलाई प्राथमिकतामा राखेर खोप दिनुप-यो । ”
यस्तै संयुक्त अरब इमिरेट्सबाट घर बिदामा आउनुभएका कास्कीका कैलाश सिग्देल उडान खुलेलगत्तै जान पाइन्छ कि भनेर काठमाडौँमा आएर बसिरहनुभएको छ । यूएईले खोप नलगाउनेलाई प्रवेशमा रोक लगाएको छ । उहाँ भन्नुहुन्छ, “कति ठाउँमा बुझियो तर विदेश जानेका लागि खोप छैन भन्छन् । उताबाट कम्पनीले खोप नलगाई आउन पाइँदैन भनेको छ । ”
नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य मुुलुकले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएका छन् । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि नेपालका श्रम गन्तव्य मलेसिया, यूएई, कुवेतले नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेका छन् ।
कम्पनीको बिदामा आएका पनि पहिले उडान बन्द भएर अहिले खोप नपाएर रोकिएका छन् । कुवेतले खोप लगाएका श्रमिक बिस्तारै लिने भनेको छ भने साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बने सर्तमा श्रमिक लिइरहेका छन् । यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने भनेको छ तर अहिले त यूएईले नेपाललाई प्रतिबन्ध नै लगाएको छ ।
ओमान र बहराइनले पनि अहिले नयाँ भिसा जारी गरेका छैनन् । ओमानको आवासीय भिसा भएका श्रमिक सात दिन क्वारेन्टाइनमा बस्ने गरी जान पाउँछन् । पछिल्लो समयमा चीन र अमेरिकाबाट खोप आएको छ । अन्य देशबाट पनि आउने भनिएको छ । सरकारले जुलाईभरमा चीनबाट तीन चरणमा कोभिड–१९ विरुद्धको खोप ल्याउने बताएको छ तर वैदेशिक रोजगारीमा जानेलाई भने सरकारले अहिले पनि प्राथमिकतामा राखेको छैन ।
चीनबाट आएको र भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकारले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ भने अमेरिकाबाट आएको जोनसन एन्ड जोनसन खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकता दिने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले अमेरिकाबाट आएको खोप एक डोज मात्रै लगाए हुने भएकाले यो खोप पहिलो प्राथमिकता विदेश जानेलाई प्राथमिकतामा पारौँ भन्नेमा मन्त्रालयको जोड रहेको बताउनुुभयो ।
श्रम मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा कृष्णगोपाल श्रेष्ठ रहनुभएकाले खोपमा विदेश जानेलाई प्राथमिकतामा पार्ने विषयमा सकारात्मक नै रहेको बताउनुुभयो ।
वैदेशिक रोजगारी जानेहरूले आफूहरूलाई खोप उपलब्ध गराउन माग गर्दै आएको भए पनि अहिले उनीहरूका बारेमा कुनै निर्णय नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अवस्था सामान्य हुन्थ्यो भने रोजगारीको खोजीमा दैनिक सरदर एक हजार मानिस विदेश उड्थे तर कोरोना महामारीले वैदेशिक रोजगारलाई थला परेको छ । गत वर्ष गन्तव्य देशहरू नै कोरोनाबाट नराम्रोसित प्रभावित भएका थिए ।
राष्ट्रिय योजना आयोगले अघिल्लो महिना सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७७ असारदेखि २०७८ वैशाखसम्म करिब साढे चार लाख नेपाली चार्टर उडान र उद्धार उडानमार्फत स्वदेश फर्किएका छन् । सो अध्ययनअनुसार पछिल्लो एक वर्षमा कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका चार लाख ४४ हजार ७९९ नेपाली रोजगारी गुमाएर स्वदेश फर्किएका छन् ।
यता वैदेशिक रोजगार व्यवसायीहरूले पनि वैदेशिक रोजगारीमा जान्छु भन्ने सबैलाई खोप उपलब्ध गराउन नसके पनि श्रम स्वीकृति लिइसकेका श्रमिकलाई भने तत्काल प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?