logo
२०८२ भाद्र २० शुक्रवार



हाइब्रिड धानको परीक्षण

अर्थ |


हाइब्रिड धानको परीक्षण


विष्णुप्रसाद पोखरेल

दमक, असार ३१ गते । झापामा पहिलो पटक नयाँ प्रजातिको हाइब्रिड धानको प्रयोगात्मक परीक्षण सुरु गरिएको छ । जिल्लाका विभिन्न १० स्थानमा १० हेक्टरमा परीक्षणका लागि किसानले धान लगाएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ झापाले विभिन्न समूहमार्फत बीउ, मल, प्राविधिक सहयोग गरेपछि किसानले नयाँ जातको धान लगाएको जनाएका छन् ।
गौरादहका अगुवा किसान चन्द्रप्रसाद निरौलाले आफ्नो वर्षभरि खाने खेतमा जोखिम मोलेर भए पनि यो धान लगाएको बताउनुभयो । “सबैले यसले राम्रो उत्पादन दिन्छ भनेपछि समूहमार्फत नयाँ जातको धान लगाएका हौँ,” उहाँले भन्नुभयो । अन्य धानको बीउभन्दा यो अलि फरक रूपमा रोपिने रहेको पाएको पनि उहाँले जनाउनुभयो ।
श्री महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था अर्जुनधारा–७ को संयोजनमा एक हेक्टरमा धान लगाउनुभएकी किसान उमा पराजुलीले नयाँ धानको जात लगाउन पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । “राम्रो आम्दानी दिन्छ भन्ने लागेको छ र विश्वास पनि लिएको छु,” उहाँले भन्नुभयो ।
कृषि विकास कार्यक्रमअन्तर्गत स्वदेशी धान प्रदर्शनको प्रारम्भिक अवस्था सन्तोषजनक रहेको र यसमा किसानसमेत उत्साहित रहेको परियोजना कार्यन्वयन एकाइ झापाका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले बताउनुभयो । “किसानलाई नयाँ जातको धान रोप्न प्रेरित गर्दा सुरुमा त गाह्रो नै हुनेरहेछ,” सुवेदीले भन्नुभयो ।
उहाँका अनुसार स्वदेशी हाइब्रिड धान प्रदर्शनका लागि हर्दिनाथ हाइब्रिड–१ र हर्दिनाथ हाइब्रिड–३ लगाइएको छ । यसबाट कम्तीमा पनि ६० मेट्रिक टन धान उत्पादन हुने अपेक्षा लिइएकोसमेत सुवेदीको भनाइ छ । “लागत कम गरेर उत्पादन बढाउने लक्ष्यमा यस्ता परीक्षण सहयोग पुग्छ,” सुवेदी भन्नुहुन्छ ।
हाइब्रिड धानको प्रयोगात्मक परीक्षण खेतीको अवलोकन गर्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले किसानको उत्साह र कृषि प्राविधिकको प्रयास अनुकरणीय पाएको बताउनुभयो । “किसानहरू धेरै नै उत्साहित भएको पाएँ र यो सफल नै हुन्छ भन्ने लागेको छ,” उहाँले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?