गाेरखापत्र अनलाइन
काठमाडौं, साउन १ गते । नेपाल टेलिकमकाे सर्भरमा ह्याकरको आक्रमणबाट डाटा रेकर्ड चोरी भएको भन्दै प्रकाशित समाचार झुट भएको भन्दै नेपाल टेलिकमले कुनै पनि डाटा चोरी नभएको स्पष्ट पारेकाे छ ।
बिहीबार विज्ञप्ति प्रकाशन गरी टेलिकमले भ्रामक समाचारले ग्राहकवर्गमा नकरात्मक सन्देश पुगेको भन्दै खण्डन गरेको हाे । असार २७ गते विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि डाटा सुरक्षासम्बन्धी गम्भीरता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानबिन शुरु गरेको जनाएको छ ।
कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानबिनपछि कम्पनीको कुनै पनि डाटा चोरी नभएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्र अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्न कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेको छ