दिपकप्रसाद गौतम
वीरगञ्ज , साउन १ गते । मुलुककै प्रमुख नाका वीरगञ्ज नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७७-७८ मा १ खर्ब ७० अर्ब ५ करोड राजश्व असुली गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताका अनुसार वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७७-७८ मा १ खर्ब ७० अर्ब ५ करोढ ४७ लाख १ हजार राजश्व असुली गरेको हो ।
भन्सार विभागले दिएको १ खर्ब ७० अर्ब ७६ करोढ ५१ लाख ४५ हजार राजश्व संकलन गर्ने लक्ष्यमा १ खर्ब ७० अर्ब ५ करोढ ४७ लाख १ हजार राजश्व असुली गरेको हो । जुन दिईएको लक्ष्यको ९९ दशमलव ६ प्रतिशत हो ।
वीरगञ्ज भन्सार कार्यालयले आयात तर्फको भन्सार महसुल ६५ अर्ब ३४ करोड ९९ लाख ९९ हजार रुपैया , मूल्य अभिवृद्धिकरतर्फ ७१ अर्ब १६ करोड ८९ लाख ६६ हजार रुपैया , अन्तशुल्क तर्फ २२ अर्ब ४७ करोड ४८ लाख ८८ हजार रुपैया , पूर्वाधार करतर्फ १० अर्ब ३८ करोड २२ लाख ७१ हजार रुपैया स्वास्थ्य जोखिम कर ४ लाख ९२ हजार रुपैयाँ राजश्व असुली गरेको वीरगञ्ज भन्सारले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ ।
त्यस्तैगरी वीरगञ्ज भन्सार कार्यालयले निर्यात तर्फ भन्सार महसुल ६ करोड ६६ लाख ७१ ह्जार रुपैया , कृषि सुधार शुल्क १ अर्ब , १३ करोड ९२ लाख ४४ हजार र भन्सार सम्बन्धी अन्य आय शीर्षकमा १८ करोड २६ लाख २३ हजार रुपैयाँ राजश्व असुली गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा वीरगञ्ज भन्सार कार्यालयलाई भन्सार विभागले १ खर्ब ८८ अर्ब ६२ करोड ४९ लाख ९४ हजार रुपैया राजश्व असुली गर्ने लक्ष्य दिएकोमा ६६ दशमलव ८९ प्रतिशत मात्र असुली गर्दै १ खर्ब २६ अर्ब १६ करोड ७३ लाख ४३ हजार रुपैयाँ राजश्व असुली गरेको थियो ।
आर्थिक वर्ष २०७५-७६ मा वीरगञ्ज भन्सार कार्यालयलाई भन्सार विभागले १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजार रुपैया राजश्व असुली गर्ने लक्ष्य दिएकोमा ८५ दशमलव ९७ प्रतिशत मात्र असुली गर्दै १ खर्ब ४७ अर्ब ५३ करोड १४ लाख ५ हजार रुपैयाँ राजश्व असुली गरेको थियो ।
आर्थिक वर्ष २०७१-७२ यता बिगत ७ वर्षदेखि वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागले राजश्व असुली गर्न दिएको लक्ष्य पूरा गरेको छैन । आर्थिक वर्ष २०७१-७२मा लक्ष्यको १सय ५प्रतिशत असुली भएको थियो भने आर्थिक वर्ष २०७२-७३ मा लक्ष्यको ७७ दशमलव ४२ प्रतिशत , आर्थिक वर्ष २०७३-७४ मा लक्ष्यको ९८ दशमलव ८ प्रतिशत , आर्थिक वर्ष २०७४-७५ मा लक्ष्यको ९७ दशमलव ४८ प्रतिशत , आर्थिक वर्ष २०७५-७६ मा लक्ष्यको ८५ दशमलव ९७ प्रतिशत , आर्थिक वर्ष २०७६-७७ मा लक्ष्यको ६६ दशमलव ८९ प्रतिशत र आर्थिक वर्ष २०७७-७८ मा लक्ष्यको ९९ दशमलव ६ प्रतिशत राजश्व असुली गरेको थियो ।