ललित बसेल
सुर्खेत, साउन २ गते । सुर्खेत विमानस्थल धावन मार्ग विस्तार गर्नका लागि सङ्घीय सरकार र प्रदेश सरकारले छुट्याएको बजेट फिर्ता भएको छ । धावन मार्ग विस्तारका लागि गत आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारले ५० करोड र प्रदेश सरकारले ५१ करोड बजेट विनियोजन गरेका थिए ।
धावन मार्ग विस्तारका लागि स्थानीय प्रभावितबाट विरोध सुरु भएपछि काम अगाडि बढ्न नसक्दा एक अर्बभन्दा बढीको बजेट फिर्ता भएको हो । सङ्घ र प्रदेश सरकारले यदि स्थानीय बासिन्दाले विरोध नगरेको भए गत आर्थिक वर्षबाट काम सुरु गर्ने जनाएका थिए । स्थानीयवासीको विरोधले न धावन मार्ग विस्तारको काम अगाडि बढ्यो न विनियोजन गरिएको बजेट नै सदुपयोग भयो । सुर्खेत नागरिक उड्डयन कार्यालयले स्थानीयवासीको विरोध समाधानका लागि पटकपटक प्रयास गर्दा सफल नहुँदा काम अगाडि बढ्न नसकेकाले बजेट खर्च नभएको जनाएको छ । प्राधिकरण प्रमुख उमेशकुमार पन्थीले प्रभावित स्थानीय बासिन्दासँग सहमति नहुँदा बजेट फ्रिज भएको बताउनुभयो ।
प्रभावित स्थानीय बासिन्दासँग सहमति नजुट्दासम्म धावन मार्ग विस्तारको काम अझै पनि अन्योलमा छ । प्रदेश सरकारले विमानस्थलका गर्न यस वर्ष बजेट विनियोजन गरेको छैन । प्राधिकरण प्रमुख पन्थी स्थानीय बासिन्दाले सहमति गरेमा काम सुरु गर्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार कर्णालीको आवश्यकता अनुसार विमानस्थल विस्तारमा सबैले सहयोग गर्नुपर्ने हुन्छ ।
कर्णाली प्रदेश सरकारले पनि विमानस्थल विस्तार आयोजनालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने जनाएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले स्थानीय बासिन्दा र कोरोना महामारीका कारण विस्तारको काम अगाडि बढ्न नसकेको बताउँदै स्थानीय बासिन्दाको माग सम्बोधन गरेर विस्तारको काम सुरु गरिने बताउनुभयो । उहाँका अनुसार सरकार स्थानीय बासिन्दाका मागलाई सम्बोधन गर्न तयार रहेकाले सहमतिकै आधारमा विमानस्थल विस्तारको काम गरिनेछ ।
सुर्खेत विमानस्थल विस्तार गर्ने योजना आएपछि प्रभावित स्थानीय बासिन्दाले आफूहरूको उठिबास हुने भन्दै विरोध जनाइरहेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० र १२ का प्रभावित बासिन्दाले धावन मार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्दा आफूहरूको उठिबास हुने भन्दै विकल्प नदिएसम्म विस्तार गर्न नदिने बताइरहेका छन् । धावन मार्गको उत्तरतर्फ करिब तीन सय मिटर जग्गा अधिग्रहण गर्नुपर्ने बताइन्छ तर सो स्थानीयमा विद्यालयसहित करिब अढाई सय बासिन्दाका घर छन् । हाल एक हजार २५० मिटर लम्बाइ रहेको धावन मार्ग विस्तार गरी एक हजार ५५५ मिटर पु¥याइने लक्ष्य राखिएको छ ।