logo
२०८२ भाद्र १६ सोमवार



मुद्रास्फीति १० प्रतिशत पुग्ने अनुमान

अर्थ |


मुद्रास्फीति १० प्रतिशत पुग्ने अनुमान


गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ४ गते । नेपाली उपभोक्ताले आगामी माघमा औसत मुद्रास्फीति १० प्रतिशत हुने अनुमान गरेका छन् । नेपाल राष्ट्र बैङ्कले २०७७ माघमा गरेका सर्वेक्षणबाट यस्तो देखिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले सातवटै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट मुद्रास्फीतिसम्बन्धी अपेक्षा सङ्कलन गरेको थियो । अपेक्षा सङ्कलन गर्दा २०७७ माघको औसत मुद्रास्फीति आठ प्रतिशत रहने र २०७८ वैशाखको मुद्रास्फीति ८.७ प्रतिशत हुने उल्लेख गरेको थियो ।
प्रतिवेदनअनुसार आगामी माघमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको सङ्ख्या करिब ९४ प्रतिशत रहेको छ । त्यस्तै ४८.३ प्रतिशत उत्तरदाताले एक वर्षमा सामान्य मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्् । २.७ उत्तरदाताले भने उपभोग्य वस्तुको मूल्य घट्ने अपेक्षा गरेका छन् ।
त्यस्तै ३१.३ प्रतिशत उत्तरदाताले खाद्यवस्तुका सामग्रीको मूल्य बढ्ने अपेक्षा गरेका छन् भने ३९.६ प्रतिशतले गैरखाद्य वस्तुको मूल्य बढ्ने अपेक्षा गरेका छन् । ६२ प्रतिशतले हाउजिङ र रियल स्टेटको मूल्यमा बढोत्तरी हुने अपेक्षा गरेको राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले मुद्रास्फीति प्रक्षेपण र मौद्रिक नीतिको कार्यदिशा तय गर्दा उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षालाई पनि एक आधारका रूपमा लिने गरेकाले अपेक्षासम्बन्धी सर्वेक्षण गरिएको राष्ट्र बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले आगामी दिनमा ग्रामीण क्षेत्रका उपभोक्ता, ट्रेड युनियन, आयातकर्ता, थोक बिक्रेता, उत्पादक, विज्ञ तथा उद्यमीको अनुमानलाई समेत समेट्ने योजना बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?