प्रेमराज सिम्खडा
कालीकोट, साउन ६ गते । कालीकोट जिल्लामा निर्माण हुने अर्धजलाशययुक्त ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आफूहरूलाई दिन लागिएको मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन् ।
कर्णाली नदीको पानीलाई टनेलमार्फत सान्नीत्रिवेणी–३, सिस्नेगडामा ड्याम बनाएर सुरुङमार्फत भौरेकुनामा झार्ने आयोजनाको योजना छ । आयोजनाले रास्कोट, सान्नीत्रिवेणी र पचालझरनाको एक हजार २९४ कित्ता जग्गा अधिग्रहण गर्न लागेको हो ।
जिल्ला दररेट समितिले निर्धारण गरेको जग्गाको दररेट आफ्ना लागि स्वीकार्य नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् । ग्रामीण सडक आसपासका जग्गा प्रतिवर्गमिटर तीन हजार छ सयदेखि पाँच हजार सात सय रुपियाँ कायम गरिएको छ । कर्णाली करिडोर आसपास प्रतिवर्गमिटर एक हजार ५० रुपियाँ तोकिएको छ ।
रास्कोट नगरपालिका–५ का लीलराज बमले मुआब्जा जिल्ला दररेट निर्धारण समितिले हचुवाको भरमा मूल्य निर्धारण गरेको आरोप लगाउनुभयो । उहाँले कर्णाली करिडोरको जग्गाको मूल्य कम र गाउँतिरको रोड आसपासको जग्गाको मूल्य कसरी बढी भयो भन्दै असन्तुष्टि जनाउनुभयो । फुकोट कर्णाली जलविद्युत् बन्नुपर्छ भन्ने सबैको धारणा रहे पनि स्थानीय जनतालाई अन्याय गर्न नपाइने भनाइ उहाँको छ ।
रास्कोट–८ का प्रेमराज बरालले रास्कोट क्षेत्रका सबै बासिन्दाले मुआब्जा निर्धारणमा असहमति जनाउँदै पुनः दररेट कायम गरी दिन जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने तयारी गरिहेको बताउनुभयो ।
उहाँले पचालझर्ना गाउँपालिका–१ सिकुवासीको मुख्य धान उब्जनी हुने घाटपारि ज्युलाको जग्गाको मूल्य निर्धारण पनि अन्यायपूर्ण रहेको उल्लेख गर्नुभयो ।
यता आयोजना प्रमुख प्रमुख हीरामान वाइवाले जिल्ला दररेट समितिले निर्धारण गरेको मुआब्जाको रकम दिन गत असार २२ गते १५ दिने सूचना प्रकाशित भइसकेको बताउनुभयो । उहाँले मुआब्जा वितरणको काम अन्तिम अवस्थामा पुगेकाले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको प्राविधिक समितिले दररेट निर्धारण गरेकाले कसैलाई अन्याय नभएको दाबी गर्नुभयो ।
उहाँले साउन ६ देखि प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको लगतकट्टी गर्दै मुआब्जाबापतको रकम वितरण सुरु गरिने जानकारी दिनुभयो । आयोजना प्रभावित क्षेत्रमा जग्गाको मुआब्जाका लागि यस वर्ष ३६ करोड रुपियाँ बजेट छुट्याइएको छ । नपुग बजेट पुनः माग गरी वितरण गरिने बताइएको छ ।
झण्डै एक खर्ब लागत अनुमान गरिएको आयोजनाले साढे एक किमि लामो र ११ मिटर ब्यासको डाइभर्सन टनेलमार्फत कर्णाली नदीको पानी फर्काई मुख्य बाँध निर्माण गरिने छ । त्यसका लागि रास्कोटको शान्तिघाट, नडी, भात्तडी, पचाल झरनाको भुराबगर, घाटज्युला, सान्नीत्रिवेणीको कोट, रेगिङ र जाइकोटको जग्गा अधिग्रहण गरिनेछ । आयोजनाले कार्यालय बनाउन सान्नीत्रिवेणी–२ रकुमा १३४ रोपनी जग्गा लिसकेको छ । आयोजनाले खाडाचक्र–११ रेगिङ्लमा सब स्टेसन बनाउन जग्गा लिने तयारी गरेको छध्र
आयोजनामार्फत रास्कोटसहित खाडाचक्र, सान्नीत्रिवेणी र पचालझरनाका केही भूभाग प्रभावित हुनेछन् । आयोजनाले छ किमि मुख्य टनेलमार्फत पावर हाउसमा पानी खसाल्ने योजना बनाएको छ । आयोजना प्रमुख वाइवाले यो आयोजनाबाट वार्षिक दुई हजार ४५५ गिगावाट आवर ऊर्जा उत्पादन गरिने बताउनुभयो ।
कर्णाली नदीको तीरमा पर्ने नरहरिनाथ र सान्नीत्रिवेणीको सिमाना भौरेकुना भीरमा परीक्षणका लागि टनेल खन्न सुरु गरिएको छ । हालसम्म एक सय मिटर टनेर खोपिएको आयोजनाले जनाएको छ ।
स्वदेशी लगानीमा निर्माण हुने आयोजनाका लागि ४९ प्रतिशत स्थानीय जनताको र ५१ प्रतिशत नेपाल सरकारको लगानी रहने छ । आयोजना क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर दिने र प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी दिने आयोजनाको उद्देश्य छ । आयोजना प्रमुख वाइवाले सरकारको स्वामित्वमा रहेको नेपाल ऊर्जा उत्पादन कम्पनी लिमिटेडमार्फत बन्ने आयोजनामा लगानी जुट्न बाँकी रहेको बताउनुभयो ।