logo
२०८१ बैशाख १४ शुक्रवार



वीरगञ्ज नाकामा गत आबमा पाँच खर्ब ८२ अर्बको कारोबार

अर्थ |
प्रदेश |


वीरगञ्ज नाकामा गत आबमा पाँच  खर्ब ८२ अर्बको कारोबार



दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १३ गते । वीरगञ्ज नाका भएर आर्थिक वर्ष २०७७/७८ मा करीब पाँच खर्ब ८२ अर्ब रुपियाँको वैदेशिक कारोबार भएको छ । वीरगञ्ज नाकामा रहेका वीरगञ्ज भन्सार (एकिकृत जाँच चौकी भन्सार) र श्रीर्सिया सुक्खा बन्दरगाहा भन्सार नाका भएर आर्थिक वर्ष २०७७/७८ मा करीब पाँच खर्ब ८२ अर्ब रुपैयाको वैदेशिक कारोबार भएको हो ।
भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार वीरगञ्ज भन्सार (एकिकृत जाँच चौकी भन्सार) नाका भएर आर्थिक वर्ष २०७७/७८ मा ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात भएको छ भने ५३ अर्ब रुपैयाँँको सामान निर्यात भएको छ । त्यस्तैगरी श्रीर्सिया सुक्खा बन्दरगाहा भन्सार नाका भएर २६ अर्ब १६ करोडको मालसामान आयात भएको छ भने ३८ करोड रुपैयाँबराबरको सामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको छ ।
वीरगञ्ज भन्सारबाट अघिल्लो आव २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा कुल व्यापार २७ प्रतिशतले बढेको छ । आयातको आकार २४ प्रतिशतले वृद्धि हुँदा निर्यात भने ६६ प्रतिशतले बढेको भन्सारका सूचना अधिकारी सुमित यादवले जानकारी दिनु भयो । भटमास र सूर्यमुखीको प्रशोधित तेलले निर्यात व्यापारमा मुख्य योगदान दिएको भन्सारका सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।
वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थ र सवारीसाधन जीप, कार, भ्यान, मोटरसाइकल, ट्रक, मिनीट्रकलगायतका सवारीसाधन, इन्धन बढी भित्रिने गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा जुत्ता, चप्पल, हार्डवेयर, उपकरण, गाडीका पार्टपुर्जाजस्ता सामानको आयात भने घटेको र पेट्रोलियम पदार्थ तथा सवारीसाधन आयात बढेको भन्सारका सूचना अधिकारी यादवले बताउनु भयो ।
बारा–पर्सा जिल्लामा रहेका उद्योग कलकारखानाका लागि आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थको उल्लेख्य परिमाणमा वीरगञ्ज भन्सार भएर भित्रिने गरेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले वीरगञ्ज नाका भएर बढी मात्रामा एमएस बिलेट, कोइला, एमएस स्टील स्ट्रीप, पोलिथिन दाना, खाद्यान्न तथा दाना उद्योगका कच्चा पदार्थ आयात हुने गरेको जानकारी दिनु भयो । वीरगञ्ज नाका भएर ईलेक्ट्रिकल सामग्री, अप्टिकल फाइबर केबुल, मोटरको ब्याट्री, गाडीका पार्टपुर्जा र औषधि पनि भित्रिने गरेको छ भने भटमासको तेल , सनफलावर तेल, जुस, कपडा, जुत्तालगायतका सामग्री निर्यात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले फलाम उद्योगका कच्चा पदार्थ, खाद्यान्न, केराउ, मदिरा, तोरी, मरिच, सूर्यमुखीको अर्धप्रशोधित तेल बढी भित्रिएको र चाउचाउ, तयारी अचार, पीठो, टायर, प्रशोधित छाला, जडीबुटीलगायतका वस्तु निर्यात भएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?