logo
२०८१ बैशाख २१ शुक्रवार



प्रविधिले सहज बन्दै कृषि

अर्थ |


प्रविधिले सहज बन्दै कृषि


कोकिला ढकाल

इलाम, साउन २४ गते । सधैँ हल गोरुले खेत जोतेर धान रोपाइँ गर्दै आएका इलाम नगरपालिका–४ का किसान छविलाल घिमिरेलाई यस वर्षको धान रोपाइँको अनुभव अलिक फरक भयो । यस वर्ष वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको खेत जोत्ने हाते ट्याक्टर (मिनी ट्रिलर)ले रोपाइँ गर्दाको खर्च पनि घटायो ।

“हलका हल गोरु लगाएर खेत जोत्दा निकै खर्च आउँथ्यो । यो वर्ष बिनाझन्झट कम खर्चमै धान रोपियो,” घिमिरेले भन्नुभयो, “खेतबारी मसिनो तथा गहिरो गरी जोत्ने, हिउँदका समयमा बारीमा डल्ला कम हुने भएपछि किसानले माघ, फागुनमा मकै रोप्न र असार साउनमा धान रोप्न मिनी ट्रिलरकै प्रयोग गरियो, उत्पादन पनि बढ्ने अपेक्षा छ । ”

परम्परागत खेती प्रणालीलाई निस्तेज पार्दै व्यावसायिक कृषितर्फ उन्मुख गराउन इलामका स्थानीय तहहरूले कृषि यान्त्रिकीरणलाई प्राथमिकता दिन थालेका छन् । कृषिका लागि वडा कार्यालयलाई छुट्याइने बजेटदेखि पालिका आफैँले पनि सोझै किसानलाई हुने गरी नयाँनयाँ प्रविधि भिœयाउन सहयोग गर्दै छन् ।

नगरपालिकाले वडा कार्यालयलाई कृषिका लागि दिएको बजेटबाटै वडा कार्यालयले किसानलाई अनुदानमा ट्याक्टर, हाते ट्याक्टर, घाँस काट्ने मेसिनजस्ता यन्त्र प्रदान गरिरहेको इलाम नगरपालिका–४ का वडाध्यक्ष नुतनदेव दुलालले बताउनुभयो । “युवा, वैदेशिक रोजगारीबाट फर्किएका र किसान परिवारलाई लक्षित गरी स्वरोजगार होस् भन्ने उद्देश्यले वडा कार्यालय आफैँले पाँचवटा, नगरपालिका कार्यालयबाट चारवटा र थप तीन गरी १२ वटा मिनी ट्रिलर उपलब्ध गरायौँ,” वडाध्यक्ष दुलालले भन्नुभयो ।

हिउँदे बाली र अहिले खेत रोपाइँ गर्दासम्म किसानलाई धेरै सहज भएको पाइएको र यसो गर्दा बेरोजगार युवालाई कृषि क्षेत्रमा लाग्न प्रेरित पनि गर्दोरहेछ भन्ने अनुभव भएको उहाँले बताउनुभयो । यस्तै इलाम नगरपालिका–५ ले पनि १५ वटा हाते ट्याक्टर किसानलाई ५० प्रतिशत अनुुदानमा उपलब्ध गराएको छ । यता इलाम नगरपालिकाले गत आर्थिक वर्षमा ५३ वटा हाते ट्याक्टर ५० प्रतिशत अनुदानमै वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले जानकारी दिनुभयो । कृषिमा निकै अग्रणी रहेको सूर्योदय नगरपालिकाले पनि ५० प्रतिशत अनुदानमै हाते ट्याक्टर किसानलाई प्रदान गरेको छ । सूर्योदयले गएको आर्थिक वर्ष कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत ४३ वटा हाते ट्याक्टर वितरण गरेको छ ।

सूर्योदयले हाते ट्याक्टर सँगै गाई जोन र गाई अनुदान कार्यक्रमअन्तर्गत ५० वटा घाँस काट्ने मेसिन किसानलाई प्रदान गरेको छ । सूर्योदयले यान्त्रिकीकरण कार्यक्रमलाई निरन्तरता दिँदै चियाका लागि प्रयोग गरिने चिया टिप्ने तथा चिया काट्ने मेसिन पनि किसानलाई उपलब्ध गराउने लक्ष्य राखेको सूर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुभयो । “कृषिका लागि आगामी वर्ष १५ करोडजति रकम विनियोजित भएको छ । त्यसलाई थप प्रविधिमैत्री गराउँदै किसानलाई सहयोग गर्ने नीति छ,” आचार्यले भन्नुभयो ।
कृषिलाई नै प्राथमिकता दिँंदै आएको रोङ गाउँपालिकाले त अझ ७५ प्रतिशत अनुदानमा किसानलाई विभिन्न मेसिन उपलब्ध गराएको छ । गाउँपालिकाले २१ वटा साना हाते ट्याक्टर, ३९ वटा मोटरसहितका घाँस काट्ने मेसिन, बङ्गुरलाई दाना बनाउने छवटा मेसिन र वडा नं. ६ का लागि ९५ वटा घाँस काट्ने मेसिन उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईले बताउनुभयो ।
यस्तै माईजोगमाई गाउँपालिका र देउमाई नगरपालिका, माई नगरपालिकामा पनि कृषि यान्त्रिकीकरणका कार्यक्रम सञ्चालन भइरहेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?