टीकाराम उप्रेती
झापा, साउन २६ गते । मान्छेले खेतमा गर्ने काम हाँसले गर्छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । यस्तै अपत्यारिलो काम झापाका एक किसानले पालेका हाँसले गरिरहेका छन् । ती हाँस धान गोड्न प्रयोग भएका छन् । गौरादह नगरपालिका–७ का धनञ्जय चुडालको खेतमा पालिएका आठ सयवटा स्थानीय जातका हाँसले धान गोड्दै आएका हुन् ।
नेपालमा पहिलो पटक निजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्यान्न बैङ्क लिमिटेडको लगानीमा परीक्षणस्वरूप धान गोड्न खेतीमा हाँस छोडिएको हो । उक्त बैङ्कका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले यस वर्ष आफूहरूको पनि परीक्षणको वर्ष हो भन्दै नेपालमा पहिलो पटक जापानी राइस डग फार्मिङ प्रविधिको प्रयोग गरेर धान खेतीमा लगाइएको बताउनुभयो ।
उहाँका अनुसार धानमा लाग्ने रोग, कीरा नियन्त्रण गरी उत्पादकत्व बढाउने गर्ने उद्देश्यले खेतमा हाँसलाई धान गोड्ने खेतालाका रूपमा प्रयोग गरिएको हो । जसले गर्दा मानिसले धान गोडिरहनु पर्दैन । यस्तो कृषि विधि जापानमा सबैभन्दा बढी प्रयोग गरिन्छ । यसले अन्य अवस्थाभन्दा २० प्रतिशत उत्पादन वृद्धि हुने जनाइएको छ ।
हरियो फिरेको रोपोको पानीमा चरिरहेका हाँसले आफ्नो चारो खोज्ने क्रममा धानका गाँजालाई गोड्छन् । यसरी धान खेतमा हाँसले चुच्चो र खुट्टाले पनि माटो चलाउने गर्दछन् । माटो निरन्तर चलाएपछि धानलाई गोडमेल पुगेर बढ्न आवश्यक मद्दत पुग्ने गर्दछ ।
त्यसो गर्दा अन्य झारपातसमेत उम्रन पाउँदैनन् । कीरा, फट्याङ्ग्रा सबै हाँसले खाने हुनाले हाँसलाई पनि आहारा पुग्छ र धानको रोग नियन्त्रण हुने अध्यक्ष उप्रेती जानकारी दिनुभयो ।
यस विधिअनुसार साधारणतया एक हेक्टर खेतमा दुई हजार हाँस छोड्न सकिनेछ । धान रोपेको २२ देखि २५ दिनपछि मात्र धान खेतमा हाँस छोड्न मिल्छ । यसरी छोड्न सुरु गरिएका हाँस धानको प्रजातिअनुसार फूल खेल्नुअघिसम्म लगभग चार महिनासम्म छोड्न सकिन्छ ।
यस अवधिमा एउटा हाँसले चार किलोसम्म मल दिन्छ । यो सबै खेतमा नै हुने भएकाले खेत मलिलोसमेत हुन्छ । चार महिनासम्ममा हाँस बिक्री गर्न मिल्ने भएकाले यसबाट समेत राम्रो आम्दानी हुन्छ । यसले धान उत्पादनको लगानीसमेत कम हुने गर्दछ ।
खाद्यान्न बैङ्कको लगानीमा गौरादह नगरपालिका–७ र २ मा गरी ११ जना किसानको ५० बिघा जमिन ठेक्कामा लिएर चार प्रकारका बास्मती धान खेती गरिएको छ । जसमध्ये तीन बिघा जमिनलाई जालीले घेरेर हाँस छोड्न थालिएको हो । यो परीक्षण सफल भएमा अर्को वर्ष ५० बिघा क्षेत्रफलमा नै हाँस छोड्ने योजना रहेको बताइएको छ ।
कार्यकारी अध्यक्ष उप्रेतीका अनुसार खाद्यान्न बैङ्क नेपाल स्थानीय जातका बालीको संरक्षण गर्ने, नयाँ प्रविधि भिœयाउने, खाद्य उत्पादन, भण्डारण, बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएको हो । हाल हिमाल, पहाड र तराईमा गरी २२ वटा जिल्लामा यसका विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।
तराईमा पुराना स्थानीय जात कालो नुनियाँ, बास्मती हाइब्रिड, टुडो कालो भएको (इन्द्रवली), रातो बास्मती लगाइएको छ । यस्तै पहाडमा कोदो र फापर जातको खेती गर्न थालिएको छ । कुल ५९० जना सेयर सदस्य रहेको उक्त बैङ्कको दुई अर्बको लागत पुँजी रहेको जनाइएको छ । कृषि उत्पादनको क्षेत्रमा मात्र आफ्नो लगानी रहने भएकाले यसलाई देशव्यापी अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको जनाइएको छ ।