कोकिला ढकाल
इलाम, भदौ १ गते । केही दिनयता इलाममा चिया विवाद चर्केको छ । चिया किसानका समस्या, चिया उद्योगीको अडान र नगरपालिकाको कार्यविधि यी तीन विषयमा इलामको सूर्योदय नगरपालिकामा चियामा विवाद चर्र्केको हो । साउनको दोस्रो सातादेखिको हरियो पत्तीको मूल्य कतिपय उद्योगहरूले घटाएसँगै चियामा समस्या देखिन थालेको हो ।
पहिलो टिपाइ (फस्ट फ्लस)को चियादेखि साउनको पहिलो सातासम्म यहाँका उद्योगले किसानलाई प्रतिकिलो ४० देखि ४५ रुपियाँका दरले मूल्य दिइरहेका थिए । साउन दोस्रो सातादेखि भने उद्योगहरूले किसानलाई आधा नै कम अर्थात् प्रतिकिलो २० देखि ३० रुपियाँ दिन थालेपछि पुनः चियाको चर्चा बढेको हो ।
सूर्योदय नगरपालिकाले तीन वर्षअघिदेखि हरियो चियापत्तीको न्यूनतम मूल्य ४० रुपियाँ निर्धारण गरेर कार्यान्वयनमा ल्याएको थियो । यो उद्योगीहरूले आफू खुसी चियाको मुना हेरेर प्रतिकिलोे २० र ३० रुपियाँ निर्धारण गरेपछि गुणस्तरीय पत्ती उत्पादन गर्ने किसानलाई बढी मार परेको सूर्योदय १२ का किसान पारस राईले बताउनुभयो ।
जुन किसानले थोरै परिमाणमा हरियो पत्ती टिप्छ, उसको २० किलोदेखि ५०, ६० किलो मात्रै हुन्छ, हातले टिपेको त्यो चिया दुईपात एक सुइरो, झारपात नमिसिएको राम्रो हुन्छ । त्यसको पनि मूल्य अहिले प्रतिकिलो २० र ३० रुपियाँ छ, राईले भन्नुभयो । उहाँका अनुसार आठ सय/एक हजार किलो चिया टिप्ने किसान पनि छन् र त्यस्तो चियामा थोरै परिमाणको जस्तो गुणस्तर हुँदैन । त्यो चिया पनि २० र ३० रुपियाँ यस्तो भएपछि किसानले राम्रै टिप्नुपर्छ भन्ने बाध्यता नरहेको उहाँले थप्नुभयो । राम्रो र नराम्रो दुवै पत्तीको मूल्य एउटै दिएपछि समस्याको चुरो त्यहीँ रहेको किसान राईको भनाइ छ ।
गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ कार्यान्वयन गर्न त्यो समयमा उद्योेगी, किसान, नगरपालिका सबै सहमत भएर कार्यान्वयनमा आएको थियो । कार्यविधिअनुसार कसैले पनि काम नगरेको नगरपालिका, उद्योगी र किसान तीनै पक्षको दाबी छ । कार्यविधिमा ४० प्रतिशत मुना भएको चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ हुनुपर्ने उल्लेख छ । नगरपालिकाले गरेको अध्ययनमा एक किलो हरियो पत्ती उत्पादन गर्न ३८ रुपियाँ ५० पैसा खर्च हुने पाएपछि न्यूनतम प्रतिकिलो ४० रुपियाँ मूल्य निर्धारण गरेको नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुहुन्छ ।
सूर्योदय नगरपालिकाभित्र रहेका धेरैजसो उद्योगले कार्यविधिमा भएको व्यवस्था अर्थात् ४० प्रतिशत मुना नभएपछि गुणस्तरहीन पत्तीको मूल्य घटाउन बाध्य भएको उद्योगीको भनाइ छ । नगरपालिकाको मापदण्डअनुसारको ४० प्रतिशत हरियो मुना भएको पत्तीको मूल्य प्रतिकिलो ४० रुपियाँ छ, त्यही गुणस्तर अनुसार किसानबाट चिया आयो भने उद्योगहरू दिन तयार छौँ, तर मापदण्डअनुसारको गुणस्तरीय चिया किसानबाट आउँदैन ।
६२ उद्योग आबद्ध रहेको सूर्याेदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले भन्नुभयो, “नगरपालिकाले किसानलाई गुणस्तरीय पत्ती बिक्री गर्न पनि प्रेरित गर्नुपर्छध्र”
उद्योगहरूले भने उद्योगमा आइपुगेको जस्तो सुकै चिया फर्काउन नसक्ने कट्टेलको भनाइ छ । हामी किसानको कुनै चिया पनि गुणस्तरहीन भनेर फर्काउन सक्दैनौँ, यो उद्योगको कमजोरी हो तर, नगरपालिकाले ४० रुपियाँ दिन बाध्य गराएपछि किसानले कस्तो चिया बिक्री गर्छन् भन्ने अनुगमन गर्नुपर्छ ।
हातले एक–एक गरेर टिपेको, मेसिनले टिपेको र सिक्कलले काटेर पठाएको सबै चियालाई एकै रूपले उद्योगले हेर्नु नै गलत भएको किसानको भनाइ छ ।
किसानले मूल्य नपाएको गुनासो आएपछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सूर्योदय नगरपालिकाले नगर क्षेत्रका विभिन्न उद्योग र सङ्कलन केन्द्रको अनुगमन पनि गरेका छन् । अनुगमनका क्रममा नगरपालिकाले तोकेअनुसारकै गुणस्तरको पत्ती त्यति नभएको पाइएको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताउनुभयो ।
सबै किसान इमानदार नहुँदा र उद्योगहरूले पनि गुणस्तरहीन पत्ती खरिद गरिरहँदा राम्रो चिया उत्पादन गर्ने किसान मारमा परेको बरालको भनाइ छ । किसान र उद्योगी इमान्दार हुनु र नगरपालिकाले पनि अनुगमन प्रणालीलाई चुस्त बनाउनु हो भने स्थानीय सरकारले तोकेको चियाको समर्थन मूल्य कार्यान्वयन हुनसक्छ, बरालले भन्नुभयोध्र