दीपा चौधरी, दृश्यमा मनोजरत्न /शाही केशब गुरुङ्ग
काठमाडौँ, साउन ३२ गते । विगत सता दशकमा नयाँ सडकको मुहार धेरै फेरियो । नयाँ सडक ठूला महल बने । अधुनिक बन्दै गयो नयाँ सडकको परिवेश । तर नयाँ सडकसँगै जोडिएको पुरानो रञ्जना हल अगाडिको सोडा पसल आफ्नै रुप र गतिमा निरन्तर चलेको छ । यो व्यापारको दोस्रो पुस्ताको उत्तराधिकारी हुनुहुन्छ सुरेश सुवाल ।
उहाँको व्यवसाय अलि भिन्नै छ । पुरानो भन्ने हो भने निरन्तर चलिरहेको छ उपभोक्ताले रुपाएका छन् न नयाँ भन्ने हो भने कोकाकोला भन्दा पनि २० वर्ष पहिलेदेखि बन्दै आएको व्यबसायीको दावी छ । एउटा पुरानो तर अहिले पनि उत्तिकै चल्ने व्यवसाय हो पेय सोडा ।
आफूलाई सोडा व्यवसायी भन्न मन पराउने सुरेश सुवालको परिवारले २००३ सालदेखि पुरानो तर निकै चर्चित न्यूरोडमा रहेको ‘रञ्जना सोडा’ पसल चलाइरहनु भएको छ । २००३ सालदेखि अहिलेसम्म पनि यसको महत्व र स्वाद एउटै छ–उहाँ भन्नुहुन्छ,“ अहिले ग्यासको क्वालिटी केही घटेको छ पहिलेको जस्तो राम्रो ग्यास आउँदैन तर ग्राहकको मागअनुसार हामीले स्वाद दिनुपर्छ, जति ग्राहक आउँछन् सबैको स्वाद फरक–फरक हुन्छ चित्त बुझाउन गहे छ फेरि पनि काम त गर्नुपर्छ ।” स्वर्गीय बुबा बुद्धिराज सुवालको गुण र आय आर्जनको बाटो जोगाउनु आफ्नो जिम्मेवारी रहेको उहाँले बताउनुभयो ।एक जना राणा शुब्बाले उपहारस्वरुप दिनुभएको थियो ‘सोडा मेसिन’ । सोडा व्यवसाय सुवाल भन्नुहुन्छ,“ बुबाको मिल्ने साथि एक जना राणा शुब्बा हुनुहुन्थ्यो । उहाँहरुले जर्मनीबाट खाने सोडा बनाउने मेसिन नेपाल लिएर आउनुभएको थियो तर त्यसमा वियर जस्ता पेय पदार्थ बनाएर खाने गर्नुहुन्थ्यो र त्यहाँ मेरो बुबा काम गर्ने सिलसिलामै खाने सोडा बनाएर दिनुभयो र त्यो सोडा उहाँहरुलाई मन परेछ र अन्तिममा त्यही मेसिन तपाईले नै प्रयोग गर्नुस् भनेर उपहारस्वरुप बुबालाई दिनुभएको थियो ।” त्यही खाने सोडा बनाउने मेसिन भने अहिले काम लागेको छैन ।
तर त्यो सोडा मेसिनलाई अझै पनि आफूले सुरक्षितरुपमा राखेको सुरेश सुवालले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“विकल्पको रुपमा अरु मेसिन राखेर काम भइरहेको छ, त्यो मेसिन भने मर्मतका लागि राखिएको छ ।” अहिले आफूसँग दुई वटा उपहारमा पाएको मेसिनसहित तीन वटा वटा मेसिन रहेको उहाँले बताउनुभयो । त्यो मेसिनमध्ये पुरानो जर्मनीबाट ल्याइएको हो भने नयाँ मेसिन भारतको नयाँ दिल्लीबाट ल्याएको उहाँले बताउनुभयो । आफ्नो व्यवसायको मुख्य कारण नै उपहारमा पाएको मेसिन रहेको उहाँको भनाइ छ ।