logo
२०८० चैत्र १५ बिहीवार



वार्षिक दश अर्बको फर्नेश आयल आयात, संरक्षण भए आत्मनिर्भर हुन सक्ने

अर्थ |


वार्षिक दश अर्बको फर्नेश आयल आयात, संरक्षण भए आत्मनिर्भर हुन सक्ने


लक्ष्मण पौडेल
भैरहवा, भदौ ७ गते । राज्यको उचित संरक्षण पाए फर्नेश आयलमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने योजना उद्योगीले अगाडि सारेका छन् । मुलुकमा उद्योग कलकारखाना फास्टाउँदा जाँदा फर्नेस आयलको माग पनि बढ्दै गएको छ । भन्सारको तथ्यांक अनुसार भारत, चीन लगायतका मुलुकबाट फर्नेस आयलको आयात वार्षिक झण्डै १० अर्व पुगेको छ ।
फर्नेस आयल उत्पादन गर्ने नेपालकै पहिलो उद्योग देवदह–४ रुपन्देहीको स्पिड इनर्जीका सञ्चालक अजयमान श्रेष्ठले स्वदेशी उद्योगमा सरकारको संरक्षणकारी नीति भए फर्नेस आयलमा आत्मनिर्भर बन्न सकिने बताउनुभयो । आयातित फर्नेस आयलको मूल्य प्रतिलिटर ९२ रुपियाँ हुँदा आफूहरुले जम्मा ५८ रुपियाँ प्रतिलिटरमा बेच्नुपरेकाले सोही अनुरुप कच्चा पदार्थ कच्चा पदार्थ किन्नुपर्ने बाध्यता रहेको श्रेष्ठको दावी छ ।
आयातित फर्नेश आयलसँग स्वदेशमा उत्पादित तेलले प्रतिष्पर्धा गर्ने गरी राज्यले संरक्षणको नीति लिए मात्रै व्यापार घाटा कम हुने र स्वदेशी उद्योग फस्टाउने उद्योगी श्रेष्ठको भनाइ छ । उहाँले प्रदूषण शुन्य हुने भएकाले वातावरणमैत्री उद्योगको सूचीमा राखेर अनुदान दिनुपर्ने माग पनि गर्नुभयो । यसका साथै आयातित फर्नेस आयलसँग अस्वस्थ प्रतिष्पर्धा रोक्न पेट्रोलियम पदार्थमा लगाइएको पाँच प्रतिशत प्रदूषण शुल्क आयातित फर्नेस आयलमा पनि लगाइनुपर्ने उद्योगीको माग छ ।
भारतमा फर्नेस आयल उद्योग करिव पाँच सयको हाराहारीमा छन् । तर नेपालमा जम्मा चारवटा रहेकामा दुईवटा उद्योग बन्द छन् । धनगढीमा रहेको उद्योग कच्चा पदार्थ नपाएकै कारण दुई वर्षदेखि बन्द छ भने रुपन्देहीको सिक्टहनमा रहेको बाबा इनर्जी उद्योग गत फागुनदेखि बन्द छ । बन्दाबन्दीका कारण थोत्रा टायरको अभाव हुन थालेपछि गत फागुनदेखि बन्द भएको उद्योग अझै सञ्चालनमा ल्याउन नसकिएको उद्योगका सञ्चालक बोनिन पियाले बताउनुभयो ।
विराटनगरमा रहेको ग्लोबल बायो इनर्जी पनि कच्चा पदार्थकै अभावमा धरासायी हुने अवस्थामा पुगेको छ । उद्योगका सञ्चालक विनित सिंगानियाका अनुसार कच्चा पदार्थको अभावका कारण मासिक ३५० टन टायरको तेल उत्पादन गर्ने क्षमता भएको उद्योगले हाल दुईसय टनको मात्रै तेल उत्पादन गरिरहेको छ ।
स्पिड इनर्जीका सञ्चालक श्रेष्ठले वैकल्पिक उर्जामूलक उद्योगले हालसम्म राज्यबाट कुनै पनि सुविधा प्राप्त गर्न नसकेको, उद्योगले टायर ट्यूव जस्ता कच्चापदार्थ अनौपचारिक क्षेत्रबाट संकलन गर्नुपर्ने भएकोले सोको खरिद भ्याटबिल उपलव्ध नहुने कारणले सो बापतको विक्री भ्याट फिर्ता नहुने, आन्तरिक उत्पादनलाई प्राथमिकतादिने नीति कार्यान्वयनमा आउन नसकेको, बताउनुभयो । उद्योगलाई अपुग कच्चा पदार्थ आयात गर्न दिने गरी भन्सार दरवन्दीमा व्यवस्था गरिनु पर्ने उद्योगीको माग छ ।
पाँच करोड लगानीमा २०७१ सालमा स्थापना भएको स्पिड इनर्जीले दुई पांग्रे र चार पांग्रे सवारी साधनका टायर, ट्युब तथा रबर प्रशोधन गरी फर्नेस तेल, कार्बन ब्ल्याक र स्टिल स्क्र्याब उत्पादन गर्दै आएको छ । दुईवटा प्लान्ट सञ्चालनमा ल्याएको उद्योगको लगानी अहिले १६ करोड पुगेको छ ।
यो उद्योगबाट उत्पादन हुने फर्नेस तेल र स्टिल स्क्र्याब नेपालकै सिमेन्ट, छड, बिस्कुट, ब्याट्री आदि उद्योगमा खपत भइरहेको छ । उद्योगको क्षमता दैनिक १० हजार लिटर तेल उत्पादन गर्ने रहेपनि अहिले भने चारहजार लिटरको हाराहारीमा मात्रै उत्पादन भैरहेको उद्योगी श्रेष्ठले बताउनुभयो । नेपालमा खपथ हुने फर्नेश आयल मध्ये स्वदेशी उद्योगको उत्पादन तीन प्रतिशत मात्र छ । “उद्योगले चाहे अनुसारको कच्चा पदार्थ पाए यहींबाट वार्षिक २५ लाख लिटर इन्धन उत्पादन गर्छौ”–श्रेष्ठले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?