गोेरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ८ गते । विद्युत् आपूर्ति तथा ग्राहक सेवालाई थप चुस्त र प्रभावकारी बनाउन सम्बन्धित विभागीय प्रमुखलाई विशेष सक्रियता देखाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिनुभएको छ । घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सातवटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालयहरू र शाखाका प्रमुखहरूसँग भर्चुअल बैठक राखी गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिनुभएको हो ।
बिनाजानकारी झ्याप्प झ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर नपाएको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल समक्षसमेत आउन थालेपछि यस्तो बैठक डाकिएको प्राधिकरणले जनाएको छ । “उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधार हुनुपर्छ,” उहाँले भन्नुभयो, “संस्थाभित्रको सुशासन कायम गरी नैतिक आचरण देखाउनु पर्छ । रोकिएको चुहावट नियन्त्रण अभियान स्थानीय तह र प्रशासनसँगको समन्वयमा तत्काल सुरु गर्नुपर्छ । ”
घिसिङले ग्राहकले माग्नसाथ थ्री फेज मिटर दिन, प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाई तत्काल काम सुरु गर्र्न, निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्न र रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्न पनि सम्बन्धित प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो । उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी खर्च नियन्त्रणमा विशेष ध्यान दिन पनि उहाँले आग्रह गर्नुभएको थियो ।
“अब स्टोरमा रहेका पुराना सामान अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानको लिलामी गर्नुपर्छ,” उहाँले भन्नुभयो, “बिग्रेका ट्रान्सफर्मरहरूको मर्मत समयमै आफ्नै वर्कसपमा गरिनेछ । ”
कर्मचारीको आचरणमा पनि सुधार आवश्यक रहेको उहाँको भनाइ थियो । गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय छाड्न नपाइने र संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्नेजस्ता व्यवस्था प्राधिकरणले गरेको उहाँको भनाइ थियो ।
सहरी सौन्दर्य वृद्धि गर्न प्राधिकरणले अघिसारेको ‘उज्यालो र सफा सहर अभियान’अन्तर्गत नगरपालिकाहरूसँग समन्वय सुरु गर्न पनि मातहतका कार्यालयलाई उहाँले निर्देशन दिनुभएको थियो ।
बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले रुग्ण बनेका आयोजनाहरूको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरूले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, पोल, ट्रान्सफर्मर, मिटरलगायतका अभाव रहेको जानकारी गराउनुभएको थियो ।