logo
२०८२ भाद्र १२ बिहीवार



नेपालबाटै कैलाश दर्शनको तयारी

होटल व्यवसायी उत्साहित

अर्थ |


नेपालबाटै कैलाश दर्शनको तयारी


हुम्ला समाचारदाता
हुम्ला, भदौ ९ गते । दुई वर्षदेखि होटेल व्यवसाय सुनसान रहँदा निराश बनेका यहाँका होटेल व्यवसायी नेपाली भूमि लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न व्यवस्था हुन लागेकाले उत्साहित भएका छन् । भारतीय धार्मिक गुरु सद्गुरु आउने भएपछि होटेल व्यवसायी होटलमा आशा पलाएको हो ।

करोड रुपियाँभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको व्यवसाय कोरोनाले ओरालो लागेका बेला मानसरोवर कैलाशको दर्शन गर्न पर्यटक आउन थालेपछि व्यवसायले पुनर्जीवन पाउने आशा व्यवसायीले गरेका हुन् । पर्यटन व्यवसायी याङ्की लामाले कोरोना कहरले हिल्सा नाका बन्द हुँदा पहिलो पटक सद्गुरुसहित ५० जना भारतीय धार्मिक पर्यटकको टोली हुम्ला आउन लागेपछि होटेल व्यवसायीमा आशा पलाएको बताउनुभयो । दुई सिजनसम्म बन्द भएका होटेल अब सञ्चालनमा आउने बाटो खुलेको र व्यवसायीमा उत्साह छाएको उहाँको भनाइ छ ।

दुई वर्षअघिसम्म सिमकोटमा पर्यटक लक्षित गरेर स्थापना भएका १३ वटा होटेललाई मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको सम्झँदै होटेल सङ्घका अध्यक्ष मिम लामाले कोरोनाको अवधिमा सुकेका होटल पुनः पर्यटकको आगमन सुरु भएसँगै उत्साहित भएको बताउनुभयो । त्यसमाथि हिन्दुहरूका चर्चित सद्गुरुले पैदल मार्गबाट नेपाली भू–भाग लाप्चा क्षेत्रदेखि मानसरोवर कैलाशको दर्शनका साथै पूजापाठ पनि गर्ने भएका कारण यसको सकरात्मक सन्देश जाने उहाँको विश्वास छ ।

आगामी असोज महिनासम्म लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएका कारण भारतबाट धेरै धार्मिक पर्यटकले सम्पर्क गरिरहेको पर्यटन व्यवसायी विजय लामाले बताउनुभयो । कोरोना कहरमा केही कमी आए पर्यटक भित्रिने सङ्ख्या ह्वात्तै बढ्ने बताउँदै उहाँले यसबाट शिथिल भएको होटेल व्यवसाय पुरानै लयमा फर्कने आशा व्यक्त गर्नुभयो ।

यसैबीच सद्गुरुसहितको टोलीको व्यवस्थापनका लागि ५५ जना काठामाडौँबाट आइपुगेका छन् । ट्रेकर सोसाइटीका राजन अधिकारीका अनुसार कुक, गाइड र आवश्यक सामग्री सबै हुम्ला आइपुगेको छ । टोली हुम्ला आएपछि तरकारी र दैनिक उपभोग्य वस्तुको बजारमा बिक्री बढेको छ ।

उहाँले हुम्ला आएको टोलीले कोरोनाका कारण होटेलमा बस्ने व्यवस्था नगरेर सिमकोटस्थित खेल मैदान र सिमसार क्षेत्रमा त्रिपालको व्यवस्था गरिएको बताउनुभयो । सो पालमा सद्गुरुसहितको सबै टोली एक रात बस्नेछन् । यता २५ जना भरिया पनि तयारी गरिएको छ । कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका भरिया खोजिएको र उहाँहरूले टोलीसँगै भारी बोकेर लाप्चासम्म पुग्नु पर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?