काठमाडौँ, भदौ १० गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७।६० अङ्कले बढेर तीन हजार ९४।०५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।४० विन्दुले बढेर ५७१।३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कूल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार साताको अन्तिम दिनको कारोबारका आधारमा रु ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ११।५१, विकास बैंक २४१।६५, जलविद्युत् १६९।३७, वित्त १२०।२२ र लघुवित्त ३७।५७ विन्दुले उकालो लाग्यो । यस्तै बैंकिङ ७।५९, व्यापार ११।३९, निर्जीवन बीमा ५२।७४, उत्पादन २७।२९, अन्य ६, जीवन बीमा १५४।६४, सामूहिक लगानी कोष ०।०५ र लगानी ०।०९ विन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ९३ करोड ८४ लाख ४० हजार ९०० बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर रु ४५ करोड ६ लाख ७१ हजार ८४७, रिडी हाइड्रोपावर रु ३४ करोड ५६ लाख ३० हजार ३५७, महालक्ष्मी विकास बैंक रु ३१ करोड ७५ लाख ९२ हजार ९४० र कामना सेवा विकास बैंक रु २९ करोड ९५ हजार ३३ हजार ८६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नौ कम्पनीको शेयरमा सर्किट
दुई दिन ओरालो लागेको नेप्सेमा सुधार आउँदा आज विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, शिवश्री इन्भेस्टमेन्ट फाइनान्स, गुह्यश्वरी मर्चेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावर, जीवन विकास लघुवित्त लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
गुडविल फाइनान्सको ऋणपत्र ३।९५, सिटिजन म्युचुअल फण्ड ३।४४, लाइफ इन्स्योरेन्स कम्पनी ३।३३, शिवम् सिमेन्ट २।३० र गुर्खाज फाइनान्सका लगानीकर्ताले २।२२ प्रतिशतले गुमाए ।