गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ११ गते । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामै नेपालको निर्यात व्यापार २० अर्ब रुपियाँ नाघेको छ । कुनै एउटा आर्थिक वर्षको पहिलो महिनामै यति ठूलो रकम बराबरको निर्यात भएको पहिलो पटक हो । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनमा नेपालले २० अर्ब ७६ करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको हो । यो अघिल्लो आवको सोही महिनाको तुलनामा ११५.८५ प्रतिशतले बढी हो । गत साउनमा नेपालले नौ अर्ब ६२ करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको थियो ।
नेपालको निर्यातमा देखिएको यस्तो उछाललाई भटमासको तेलको सहयोग पु-याएको छ । साउनमा मात्रै आठ अर्ब ९८ करोड रुपियाँको भटमास तेल निर्यात भएको विभागको तथ्याङ्क छ । त्यसपछि ९४ करोड रुपियाँ बराबरको पाम तेल निर्यात भएको छ । कच्चा भटमास र पाम आयात गर्ने र त्यसलाई प्रशोधन गरेर निर्यात गर्ने प्रवृत्तिले पनि निर्यात अत्यधिक बढेको देखिएको हो । यस्ता वस्तु नेपालबाट भारतमा निर्यात हुने गर्छन् । पछिल्लो पटक भारतले पाम तेल प्रतिबन्ध फुकुवा गरेपछि पनि निर्यात बढेको देखिन्छ । नेपालबाट धेरै निर्यात हुने अन्य वस्तुमा प्रशोधित सूर्यमुखी तेल र ऊनीको कपडा रहेको छ । विभागका अनुसार नेपालबाट ७९ करोड रुपियाँको सूर्यमुखी तेल निर्यात भएको छ । त्यस्तै ६१ करोड रुपियाँ बराबरको ऊनी कपडा निर्यात भएको तथ्याङ्कले देखाउँछ ।
निर्यातजस्तै आयातको वृद्धिदर पनि साउनमा निकै बढेको छ । साउनमा मात्रै नेपालले एक खर्ब ५० अर्ब रुपियाँ बराबरका वस्तु आयात गरेको छ, जुन अघिल्लो साउनको तुलनामा ७५.६६ प्रतिशतले बढी हो । गत साउनमा नेपालले ८५ अर्ब ८० करोड रुपियाँ बराबरको वस्तु आयात गरेको थियो । यस वर्ष साउनमा सबैभन्दा धेरै अर्थात् आठ अर्ब ३२ करोड रुपियाँ बरारबको कच्चा भटमास तेलको आयात भएको छ । त्यसपछि छ अर्ब ६४ करोड रुपियाँको डिजेल, छ अर्ब ४५ करोड रुपियाँको अर्धप्रशोधित फलामका उत्पादन, चार अर्ब ८२ करोडको मोबाइल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
आयात वृद्धिदरको अनुपात बढ्दा व्यापार घाटा पनि झन् फराकिलो भएको छ । साउनमै मात्र नेपालले अन्तर्राष्ट्रिय व्यापारमा एक खर्ब ३० अर्ब रुपियाँ बराबरको घाटा बेहोरेको छ ।