राममणि दाहाल
हेटौँडा, भदौ १५ गते । सङ्घीय सरकारको गौरवको आयोजनाका रूपमा मयूरधाप औद्योगिक क्षेत्र शिलान्यास भएको छ महिना बितिसक्दासमेत निर्माण कार्य सुरु भएको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्न भएको ढिलाइका कारण औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम सुरु हुन नसकेको हो ।
हेटौँडा उपमहानगरपालिका–१३ र १४ मा स्थापना गर्ने घोषणा भएको पाँच वर्ष पुग्नै लाग्दा प्रस्तावित औद्योगिक क्षेत्रको गत फागुन १४ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्दै औद्योगिक क्षेत्रको निर्माणको काम तत्कालै सुरु हुने बताउनुभएको थियो तर औद्योगिक क्षेत्रका परियोजना प्रमुख राजेन्द्र कँडेलले औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङरकन अध्ययन प्रतिवेदन तयार नभएका कारण पूर्वाधार निर्माणको काम सुरु हुन नसकेको जानकारी दिनुभयो । उहाँले गत फागुनमा नै स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको प्रतिवेदन स्वीकृति भएर नआएको बताउनुभयो ।
कोभिड–१९ का कारण ढिलाइ हुँदासमेत गत असार मसान्तभित्रै प्रतिवेदन आइसक्नुपर्ने बताउँदै उहाँले सुरुमा अङरग्रेजी भाषामा रहेको अध्ययन प्रतिवेदनपछि नेपाली भाषामामा उल्था गर्नुपर्छ भनेपछि ढिलाइ हुँदा स्वीकृतिको समय धकेलिएकामा अहिले मन्त्रालयका अड्किएर बसेको बताउनुभयो ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापकसमेत रहनुभएको कँडेलले वातावरण मन्त्रालयबाट स्वीकृति भएर आएपछि औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा भोगाधिकारका लागि लिन प्रक्रिया सुरु गरिने बताउनुभयो । औद्योगिक क्षेत्रमा दुई वर्षभित्र उद्योग स्थापना भइसक्ने र पाँच वर्षभित्रमा औद्योगिक क्षेत्रको सम्पूर्ण काम सक्ने जनाइएको थियो तर जग्गाको ईआईए रिपोर्टसँगै भोगाधिकारको टुङ्गो लाग्न नसक्दा परिजोजना निर्माण अझै पछि धकेलिने देखिएको छ ।
परियोजना प्रमुख कँडेलले आगामी असोजभित्र ईआईए रिपोर्ट स्वीकृत भएर आउने सम्भावना रहेको बताउनुभयो । २०७२ चैत १ गते मन्त्रिपरिषदर बैठकले मयूरधापमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेपछि २०७३ साउनमा मालपोत कार्यालय मकवानपुरले औद्योगिक क्षेत्रको नाममा लालपुर्जा जारी गरेको थियो ।
तर पर्सा राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने जग्गाको पुर्जा आफ्नो अनुमतिबिना दिएकामा आपत्ति जनाउँदै औद्योगिक क्षेत्रलाई तारबार लगाउन र निर्माणको काममा निकुञ्जले रोक लगाएपछि लालपुर्जा गत वर्ष माघ ९ गते खारेज गरी भोगाधिकारका लागि जग्गा दिनेगरी सहमति भएको छ ।
१९९ बिघा १७ कटरठा क्षेत्रफल रहेको प्रस्तावित मयूरधाप औद्योगिक क्षेत्रमा ६२ वटा प्लट रहनेछनर । औद्योगिक क्षेत्रमा औद्योगिक प्लटसँगै आवासीय क्षेत्र, प्रशासनिक क्षेत्र, सेवा क्षेत्र, मुद्रण क्षेत्र, पेट्रोल पम्प तथा धर्मकाँटा पुल क्षेत्र, भन्सार, ठूला ट्रक पार्किङ, सशस्त्र प्रहरी बेस क्याम्प, फोहोर पानी प्रशोधन केन्द्र, वन तथा मनोरञ्जन क्षेत्रका लागि पूर्वाधार निर्माण गरिने भएको छ ।
कुल लागत सात अर्ब दुई करोड ३४ लाख रुपियाँभन्दा बढी रहेको जनाइएको औद्योगिक क्षेत्र स्थापना भई पूर्ण रूपमा उद्योग सञ्चालनमा आएपछि १० हजार जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।