गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १८ गते । बीमा क्षेत्रका अधिकांश परिसूचक बढेका छन् । बीमा समितिले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २०७७ साउन मसान्तको तुलनामा २०७८ साउन मसान्तमा बीमाका अधिकांश सूचकाङ्क बढेको पाइएको छ ।
समीक्षा अवधिमा २४.९९ प्रतिशत जनसङ्ख्या बीमाको दायरामा आएको दाबी गरिएको छ । अघिल्लो वर्ष २०७७ साउन मसान्तसम्म २२.३१ प्रतिशत जनसङ्ख्या बीमाको दायरामा आएको जनाइएको थियो ।
सङ्ख्यात्मक रूपमा हेर्दा अघिल्लो वर्षमा तीन करोड ६४ हजार जनसङ्ख्या बीमाको दायरामा रहेको तथ्याङ्कले देखाएको छ भने यो वर्षको साउन मसान्तसम्मका तीन करोड चार लाख ४४ हजार ३३९ जनाको बीमा भएको देखिएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्षको साउन मसान्तसम्ममा कुल बीमालेखको सङ्ख्यामा १३.४३ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमाको क्षेत्रमा अघिल्लो साउनसम्म कुल ७० लाख ६१ हजार २३८ बीमालेख जारी भएको थियो भने यस वर्षको साउन मसान्तसम्म ८० लाख नौ हजार ६३४ बीमालेख जारी भएको छ ।
यससँगै बीमा शुल्क सङ्कलनमा पनि २७.३८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १३ अर्ब चार करोड रुपियाँ बीमा शुल्क सङ्कलन भएकामा यस वर्षको साउनसम्म १६ अर्ब ६१ करोड रुपियाँ बीमा शुल्क आर्जन भएको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगार बीमालेखको सङ्ख्या भने ३२.९० प्रतिशतले घटेको छ । अघिल्लो आवमा आठ लाख ६० हजार ५१९ वैदेशिक रोजगार बीमालेख जारी भएकामा यस वर्ष पाँच लाख ७७ हजार ४१० को मात्र बीमालेख जारी भएको छ ।
निर्जीवन बीमाको क्षेत्रमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो वर्षमा दुई लाख ४१ हजार ४३८ निर्जीवन बीमालेख जारी भएकामा यस वर्ष दुई लाख ४१ हजार ८३७ बीमालेख जारी भएको थियो । निर्जीवन बीमा शुल्क पनि १०.७४ प्रतिशतले वृद्धि भएको छ ।
जीवन बीमा कम्पनीको चुक्ता पुँजीमा १६.४६ प्रतिशतले र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजीमा ११.८४ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३८ अर्ब २१ करोड पुगेको छ भने निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १९ अर्ब ४६ करोड रुपियाँ पुगेको छ । देशभर बीमा कम्पनीहरूका तीन हजार ६१ वटा कार्यालय सङ्ख्या पुगेका छन् ।