गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २३ गते । आउँदै गरेका चाडबाडलाई ध्यान दिँदै सरकारले विभिन्न निर्णय गरेको छ । त्यस्ता निर्णयमा सुपथ मूल्यमा पसल सञ्चालन, अनुगमन, यात्रु व्यवस्थापन र बिक्रेतालाई खोप दिनेसम्मका छनर । दशैँ, तिहार, छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा सरकारले त्यस्तो पहल थालेको हो ।
मुख्यसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदरको कार्यालयमा बसेकोे बैठकले सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्रा व्यवस्थापनलगायतका कार्यहरू भौतिक र पूर्वाधार, यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत मिलाउने निर्णय गरेको छ । साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खुद्रा तहका व्यवसायीहरूलाई खोप लगाउने प्राथमिकतामा दिनेसम्मका निर्णय गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान, साल्ट टे«डिङ कर्पोरेसनसहितको बैठकले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
वाणिज्य मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वमा सुपथ पसलमार्फत चिनी, नुन, चामल, गेडागुडी र खसीबोकामा उपभोक्तालाई छुट दिइने जानकारी दिनुभयो । मन्त्रालयका अनुसार चिनीमा प्रतिकेजी पाँच, नुनमा प्रति केजी दुई, चामलमा प्रतिकेजी पाँच, गेडागुडी र खसीबोका जिउँदोको प्रतिकेजी १० रुपियाँ छुट दिइनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत छुटमा सामान बिक्री गरिनेछ । सुपथ मूल्य पसलमा दुई कम्पनीले आफ्ना व्यापारिक वस्तु बिक्री गर्ने छन् । यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले पनि घिउ, पनिरलगायतका उत्पादन सुपथ पसलमा राख्ने तयारी गरेको छ ।
दशैँमा अत्यावश्यक वस्तुमा छुट दिन मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र साल्टट्रेडिङलाई एक करोड ५० लाख रुपियाँ छुट्याएको छ ।
कम्पनी र कर्पाेरेसनले उपत्यकासँगै मुलुकभर रहेका आफ्ना बिक्री केन्द्रमार्फत छुट मूल्यमा खाद्यान्न बिक्री गरिने जनाएका छनर । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुँदा निजी क्षेत्रले अस्वाभाविक मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।
यसैबीच दशैँलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसीबोका खरिद गर्ने भएको छ । कम्पनीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्ने जनाएको छ । दशैँमा खसीबोकाको खपत धेरै हुने हुँदा निजी क्षेत्रका व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुनाले बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्ने गरेको छ ।
चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको किनमेल बढी हुने हुँदा म्याद नाघेका, कमसल सामानको बिक्री बढी हुने हुँदा बजार अनुगमनको कामलाई तीव्रता दिने जनाइएको छ । वाणिज्य मन्त्रालयमा मङ्गलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको संयुक्त अनुगमनको टिमलाई प्रभावकारीमा अगाडि बढाउने निर्णय भएको हो ।
केन्द्रमा मात्र नभएर स्थानीय निकायमा पनि बजार अनुगमन गर्नुपर्ने भएकाले गृह मन्त्रालयमा समन्वय गरेर अनुगमन गर्ने तयारी उपभोक्ता संरक्षण विभागको छ । बजार अनुगमनलाई ध्यानमा राखेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामान्य प्रशासन मन्त्रालयमार्फत २५ जना कर्मचारीको मागेको छ । विभागले हाल आफूसँग भएको सीमित जनशक्तिले दैनिक अनुगमन गर्दै आए पनि चाडपर्वलाई लक्षित गरेर अनुगमन गर्नका लागि थप जनशक्तिको मागेको हो ।
विभागले हाल दैनिक तीन/चारवटा टोली बनाएर तीज केन्द्रित बजार अनुगमन गरेको जनाएको छ । विभागका निर्देशक शिवराज सेढाईंले अहिले तीजलाई लक्षित गरेर चुरापोते, लत्ताकपडा केन्द्रित भएर बजार अनुगमन गरिएको जानकारी दिनुभयो । यो साताको सुरुदेखि मङ्गलबारसम्म यस्ता सामानमा केन्द्रित भएर असन, इन्द्रचोक, नयाँ सडक लगनखेलको मङ्गलबजार, बानेश्वरलगायतका ठाउँमा गरेर २४/२५ वटा पसलको अनुगमन गरिएको जनाइएको छ । अनुगमन गरिएकामध्ये ८० प्रतिशतलाई कारबाही गरेको जनाइएको छ । अनुगमनका क्रममा बिलबिजक व्यवस्थित हुन नसकेको र सामानको मूल्य पनि पसलैपिच्छे फरक भएको पाइएको विभागले जनाएको छ ।