logo
२०८२ भाद्र ११ बुधवार



असोज १ देखि चार मेगावाट विद्युत् थपिँदै

अर्थ |


असोज १ देखि चार मेगावाट विद्युत् थपिँदै


लमजुङ समाचारदाता

लमजुङ, भदौ २४ गते । लमजुङको दोर्दी गाउँपालिकामा निर्माण गरिएको माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् असोज १ देखि राष्ट्रिय प्रसारण लाइनमा जडान हुने भएको छ । चार मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएर परीक्षणसमेत सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी गरिएको हो ।

आन्तरिक परीक्षण सफल भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले बताउनुभयो । “आयोजनाको गर्नुपर्ने सबै काम सकेका छौँ । उत्पादन परीक्षण सफल भएको छ तर व्यावसायिक विद्युत् उत्पादनमा केही समय ढिला हुने देखिएको छ,” उहाँले भन्नुभयो ।
विद्युत् प्राधिकरणले अनुगमन, निरीक्षण गरी अनुमति दिएपछि नियमित विद्युत् उत्पादन गर्ने थापाले बताउनुभयो । विद्युत् प्राधिकरणले १५ दिन परीक्षण गर्दा सफलतापूर्वक परीक्षण भएपछि व्यवसायिक विद्युत् उत्पादन हुने उहाँले बताउनुभयो । असोज १ गते राष्ट्रिय प्रसारण लाइनमा जोड्ने र १५ दिन परीक्षणपछि व्यावसायिक उत्पादन थाल्ने आयोजनाले जनाएको छ ।

२०७५ मा निर्माण सुरु गरिएको सो आयोजनाको निर्माण कार्य २०७८ साउन ५ गते सम्पन्न गर्नुपर्ने लक्ष्य थियो । कोरोनाका कारण लकडाउन, बाढीपहिरोका कारण र प्राधिकरणको आन्तरिक कारण ढिलाइ भएको आयोजनाले जनाएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् हाल सञ्चालनमा रहेको छन्दीखोला साना जलविद्युत् आयोजनाको सबस्टेसनमा थप उपकरणसहित दुई छुट्टाछुट्टै आयोजनाको मिटरिङको व्यवस्था गरी नेपाल विद्युत् प्राधिकरणको हाल सञ्चालनमा रहेको उदीपुर सबस्टेसनसम्म पु¥याइ राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ ।
प्राधिकरणको नयाँ मापदण्डअनुसार बर्खायाममा प्रतियुनिट ४.८० पैसा र हिउँदमा प्रतियुनिट ८.४० पैसाको दरमा पीपीए भएको आयोजनाले जनाएको छ । वार्षिक २२.३०६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने आयोजनाका लागि खरिद दरमा आठ पटकसम्म मूल्यवृद्धिको सुविधा दिइएको छ ।
हालसम्म आयोजना निर्माणमा कुल लागत ८० करोड ३५ लाख खर्च भइसकेको थापाले बताउनुभयो । यस आयोजनामा वित्तीय लगानीतर्फ बैङ्क अफ काठमाण्डू र कुमारी बैङ्क लिमिटेडले आयोजनाको ७५ प्रतिशत लगानी गरेका छन् । २५ प्रतिशत स्वलगानी, तल्लो छन्दीखोला साना जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट आएको आम्दानी, कम्पनीको खातामा भएको रकम र बाँकी स्वपँुजी कम्पनीले जारी गर्न लागेको हकप्रदबाट सङ्कलन गरी भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
बैङ्क ब्याज र बाढीपहिरोले क्षति भएका आयोजनाको संरचना निर्माणमा गरी साढे चार करोड रुपियाँ लागत बढेको प्रवद्र्धक कम्पनी छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?