logo
२०८२ भाद्र ११ बुधवार



आधाभन्दा बढी वैदेशिक लगानी औद्योगिक क्षेत्रमा

अर्थ |


आधाभन्दा बढी वैदेशिक लगानी औद्योगिक क्षेत्रमा


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २५ गते । नेपालमा कुल वैदेशिक लगानीमध्ये ५६ प्रतिशत लगानी औद्योगिक क्षेत्रमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७ ले आधाभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा रहेको देखाएको हो ।
सर्वेक्षणअनुसार नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले बढेर १९८ अर्ब ५२ करोड रुपियाँ कायम छ ।
त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा औद्योगिक क्षेत्रमा लगानी भएको हो । त्यसपछि ठूलो हिस्सा सेवा क्षेत्रमा लगानी छ ।
औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी छ ।
कुल वैदेशिक लगानीको ४३.९ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको देखिएको छ । सेवा क्षेत्रको २७.३ प्रतिशत बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीमा देखिन्छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । चुक्ता पँजीको अंश २२.६ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको राष्ट्र बैङ्कले जनाएको छ ।
त्यसैगरी २०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । तीमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड रुपियाँ र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी देखिएको छ ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा सर्वेक्षण प्रतिवेदन, २०७६÷७७ तयार पारिएको राष्ट्र बैङ्कले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?