logo
२०८१ बैशाख ८ शनिवार

  नेपालगञ्जमा बरामद चार किलो सुन प्रकरण  



राजस्व अनुसन्धान विभागले छानविन गर्ने, सुन र अभियुक्त काठमाडौं पठाइयो

अर्थ |
प्रदेश |


राजस्व अनुसन्धान विभागले छानविन गर्ने,  सुन र अभियुक्त काठमाडौं पठाइयो


सिराज खान
नेपालगञ्ज, असोज १ गते । नेपालगञ्जको राँझा विमानस्थलबाट प्रहरीले चार किलो २१ ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको घट्नाको विस्तृत छानबिन राजस्व अनुसन्धान विभाग काठमाडौले गर्ने भएको छ ।
सो घट्नाको छानबिन विभागले गर्ने भएपछि पक्राउ परेका मोरङ्ग लेटाङ्ग गाविस २ का बुद्दिमान खाती र झापा खुदुनावारी गाविस ६ का अमिर लगुन विश्वकर्मालाई सुन र अन्य आवश्यक कागजपत्रसहित काठमाडौ पठाइएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ ।
सो सुन काठमाण्डौ मैतीदेवीमा रहेका बुद्ध ज्वेलरी वर्कशप प्रालिबाट खरिद गरिएको पाइएकोले उक्त प्रालिसहित सम्पूर्ण घट्नाबारे विभागले नै अनुसन्धान गर्ने भएपछि पक्राउ परेका दुई जना, बरामद सुन तथा विभिन्न कागजपत्र विभागमा बुझाईएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख सरोजकुमार पोखरेलले बताउनुभयो ।
उहाँले आफूहरुले पनि विभागलाई सो घट्नाको बारेमा आवश्यक परेको थप सहयोग गरिरहने बताउनुभयो ।
गत भदौ १८ गते काठमाडौंबाट श्री एअरको विमानबाट नेपालगञ्ज आएका झापा र मोरङका विश्वकर्मा र खातीले जुत्ताको तलुवामा लुकाएर ल्याएको चार किलो काँचो सुन र अढाई तोला गहना प्रहरीले बरामद गरेको थियो ।
उक्त सुन नेपालगञ्जस्थित नेपाल ज्वेलर्स, नेपाल आभूषण भण्डार र सन्जित ज्वेलर्सको नाममा खरिद गरिएको बिल पनि फेला परेको थियो । प्रहरीले भदौ १९ गतेनै सुन र पक्राउ परेका दुबैजनालाई थप कारवाही र छानबिनका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुरले ती तीनवटै सुन व्यवसायीको पसलमा छापा मारेर आवश्यक कागजपत्र नियन्त्रणमा लिनुका साथै सोधपुछ समेत गरेको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो ।
ती सबै कागजपत्र, घट्नाको मिसिल, बरामद सुन र पक्राउ परेका दुबैजनालाई थप अनुसन्धान र कारवाहीका लागि विभागमा बुझाइएको उहाँले बताउनुभयो ।
काठमाडौ मैतीदेवीमा रहेका बुद्ध ज्वेलरी वर्कशप प्रालिका सञ्चालकलाई समेत नियन्त्रणमा लिएर विभागले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको जनाइएको छ ।
निकै कडा सुरक्षा व्यवस्थाका बावजुद पनि काठमाण्डौ विमानस्थलबाट सो सुन विमानमार्फत नेपालगञ्ज पुगेकोले सो बारेमा समेत छानबिनका लागि पनि वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा गठन गरिएको समितिले अनुसन्धान गरिरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?