logo
२०८० चैत्र १६ शुक्रवार



बाँकेमा १३ करोडमा अत्याधुनिक प्रविधिको कुखुरापालन शुरु

अर्थ |
प्रदेश |


बाँकेमा १३ करोडमा अत्याधुनिक प्रविधिको कुखुरापालन शुरु
जिल्लाकै पहिलो अत्याधुनिक कुखुरापालन । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, असोज २ गते । पश्चिम नेपालमै कुखुराको मासुको माग बढ्दै गएपछि बाँकेमा पहिलो पटक ठूलो लगानीमा आधुनिक प्रविधिको प्रयोग गरी बोइलर कुखुरा पालन सुरु गरिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ तेलनपुर्वामा रजा ग्रुप प्रालिले १३ करोड बढी लगानी लगाएर अत्याधुनिक खोरहरु निर्माण गरी बोइलर कुखुरा पालन शुरु गरेको हो । रजा ग्रुप प्रालिका सञ्चालक मुख्तार राईका अनुसार ७५ हजार कुखुरा एकै लटमा पाल्न सक्नेगरी पाँच वटा अत्याधुनिक खोरको निर्माण गरेर कुखुरापालन शुरु गरिएको छ ।

उहाँले ५४ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कुखुरा फार्ममा निर्माण गरिएका पाँच वटा अत्याधुनिक खोर मध्ये एउटामा कुखुरापालन शुरु गरिसकेको र अन्यमा गर्ने तयारीमा रहेकोले अब बाँके बर्दिया र यस क्षेत्रका अन्य जिल्लाहरुमा मासुको अभाव नहुने बताउनुभयो ।
अत्याधुनिक बातानुकुलित खोर निर्माण गरेर पालिएका कुखुराहरु छिटो बढ्ने, रोग कम लाग्ने, दाना पानी खुवाउन धेरै जनशक्ति खर्चिन नपर्ने हुँदा लगाएको लगानी केही वर्षमै उठाउन सकिनेमा आफूहरु विश्वस्त रहेको सञ्चालक राईले बताउनुभयो ।

हरेक खोरमा १५ हजार कुखुरा पालन गर्ने क्षमता रहेको पाँच वटा खोर रजा ग्रुपले निर्माण गरेको छ । दश दिनको फरकमा हरेक खोरमा बोइलर कुखुराको चल्ला हाल्ने योजना अनुरुप काम भैरहेको छ । पहिलो लट निकाली सकिएकोले यसले थप हौसला मिलेको राईले बताउनुभयो ।
चितवनतिर यस्तो किसिमको कुखुरा पालन उद्योग सञ्चालनमा रहे पनि पश्चिममा भने निजिस्तरमा पहिलो पटक यस्तो प्रकारको अत्याधुनिक खोर निर्माण गरी बोइलर कुखुरा पालन शुरु गरिएको रजा ग्रुपको दावी छ । सो बोइलर कुखुरा फार्ममा हाल ३० जनालाई रोजगारी दिइएको छ ।

सो कुखुरापालनका लागि कुखुरा विकास फार्मले आवश्यक प्राविधिक सहयोग गरिरहेको फार्मका प्रवन्धक डा. शंकर न्यौपानेले बताउनुभयो ।
उहाँले नेपालगञ्ज जस्तो गर्मी ठाउँका लागि यस्तो खालको तापक्रम मिलाउन सकिने, दाना पानी अटोमेटिक रुपमा दिन सकिने फार्म आवश्यक रहेको अवस्थामा यस फार्मले उक्त आवश्यकता पूरा गरेको पनि बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?