logo
२०८१ जेष्ठ ४ शुक्रवार



थोक विक्रेताले म्याद गुज्रेका खाद्य सामग्री फिर्ता लिन नमानेको व्यवसायीको गुनासो

अर्थ |
प्रदेश |


थोक विक्रेताले म्याद गुज्रेका खाद्य सामग्री फिर्ता लिन नमानेको व्यवसायीको गुनासो


विष्णुप्रसाद पोखरेल
दमक, असोज १३ गते । कोरोना महामारीका कारण लामो समय पसल तथा ब्यापार ब्यवसाय ठप्प हुँदा पसलमा म्याद गुज्रिएको सामग्री भेटिन सक्ने तर डिलरहरुले फिर्ता लिन नमान्दा समस्या भएको ब्यवसायीहरुले बताएका छन् ।

दमक नगरपालिकामा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा र दमक नगरपालिकाले आयोजना गरेको सरोकारवालाहरुसँगको छलफलमा ब्यवसायीहरुले थोक बिक्रेताहरुसँग समन्वय गरेर उपभोग्य मिति समाप्त भएका सामग्रीहरु फिर्ता लैजाने ब्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

दमक उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल गुरागाईले थोक विक्रेताले उपभोग्य मिति सकिएको सामग्री फिर्ता नलिएको भनेर त्यहि सामान उपभोक्तालाई नबेच्न आग्रह गर्दै यसमा स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो । बजारमा समस्या रहेको छ र यो समस्या सामधानका लागि तत्काल चासो हुनुपर्छ उहाँले भन्नुभयो ।

किराना ब्यवसायी सङ्घ दमकका अध्यक्ष कृष्ण अधिकारीले किराना ब्यवसायीहरु अनुगमनको निशानामा पर्नेगरेको बताउँदै अहिले उपभोग्य मिति सकिएका सामग्रीहरु भण्डारण गर्न सक्ने अवस्था समेत नरहेको बताउनुभयो । बल्लतल्ल एउटा कोठा लिएर किराना पसल गरेको हुन्छ कहाँ मिति सकिएको सामग्री राख्ने ? उहाँले जिज्ञासा गर्नुभयो ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख भरतबहादुर गिरीले कुनै पनि वहानामा उपभोग्य मिति समाप्त भएका र लेवल टाँस नभएका सामग्रीहरु बिक्री वितरण गर्न नहुने बताउनुभयो । उपभोग्य मिति समाप्त भएका सामग्रीहरु फिर्ताका लागि भण्डारण गरिएको हुनुपर्छ उहाँले भन्नुभयो ।
विक्रीका लागि राखिएको ठाँउमा उपभोग्य मिति समाप्त भएका सामग्री भेटिएमा त्यो दण्डनीय हुने पनि उहाँले बताउनुभयो । उपभोक्ताको हित संरक्षणमा झापालगायत पूर्वी पहाडी जिल्लामा आफूहरुले निरन्तर कार्यहरु गर्दैआएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?