logo
२०८१ जेष्ठ ४ शुक्रवार



अवैध रुपले भित्र्याइएको चल्लासहित तीन भारतीय मोटरसाइकल बरामद

अर्थ |
प्रदेश |


अवैध रुपले भित्र्याइएको चल्लासहित तीन भारतीय मोटरसाइकल बरामद


दीपकप्रसाद गौतम
वीरगञ्ज, असोज १४ गते । पर्सा प्रहरीले जिल्लाको ग्रामीण नाका जानकीटोल हुँदै नेपाल भित्रिरहेको अवस्थामा चार हजारभन्दा बढी कुखुराको चल्लासहित तीनवटा भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । पंन्छी र पन्छीजन्य सामग्री आयातमा प्रतिबन्ध रहेकाले भारतबाट कुखुरा तथा कुखुराको चल्ला ल्याउन पाईदैन, त्यसैले तस्करहरुले ग्रामीण नाका भएर भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राऊ गरेको हो ।

पर्साको जगरनाथपुर गाउँपालिका २ जानकीटोलबाट विहीबार ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरी टोलीले तीनवटा मोटरसाइकलसहित ५१ कार्टुन कुखुराको चल्ला बरामद गरेका हो । बरामद भएका भारतीय नम्बरका मोटरसाइकलमा बिआर २२ एम २२५१, बिआर २२ एफ ८६९५, र एउटाको नम्बर स्पष्ट नरहेको बजाजको प्लास्टिना मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकास खनालले जानकारी दिनुभयो ।

प्रहरीको गस्ती टोली देखेपछि तस्करहरुले चल्ला लोड रहेको मोटरसाइकल छोडेर भागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एबम् प्रहरी नायब उपरिक्षक खनालले बताउनुभयो । दुईवटा मोटरसाइकलमा १९–१९ कार्टुन र एउटामा १३ कार्टुन गरी ५१ कार्टुनमा कुखुराको चल्ला राखी मोटरसाइकलमा लोड गरी भारतबाट नेपाल  ल्याउँदै गरेको अवस्थामा प्रहरीले चल्लासहितका तीनवटा भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

एक कार्टुनमा करिब ८० वटा कुखुराको चल्ला रहेकाले कुल ४ हजारभन्दा बढी चल्ला रहेको प्रहरीले जनाएको छ । भारतीय चल्ला छिटोछिटो बढ्ने र बढी बजन हुने गरेकाले कुखुरा पालन गर्ने किसानहरुले भारतीय चल्ला नै रुचाउने गरेको व्यवसायीहरु बताउँछन् । प्रहरीले यसरी बरामद गरिएका चल्लाहरुलाई नष्ट गरी मोटरसाइकल मात्र भन्सारमा बुझाउने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?