logo
२०८२ भाद्र १० मंगलवार



‘हाइडेन्सिटी’ स्याउका बिरुवाको उत्पादन मुस्ताङमै

अर्थ |


‘हाइडेन्सिटी’ स्याउका बिरुवाको उत्पादन मुस्ताङमै


म्याग्दी समाचारदाता

बेनी, असोज १६ गते । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा तन्तु प्रजनन प्रयोगशाला निर्माण भएसँगै बागवानीजन्य फलफूल तथा तरकारीका गुणस्तरीय बिरुवा मुस्ताङमै उत्पादन हुने भएको छ ।
दुई वर्ष लगाएर निर्माण सम्पन्न गरिएको तन्तु प्रजनन प्रयोगशालाको भवन निर्माणका लागि एक करोड १५ लाख खर्च भएको थियो भने मेसिन, रसायन तथा अन्य सामग्री ६५ लाखको खरिद भएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।
स्याउ, ओखर, कागजी बदामलगायतका फलफूलको बिरुवा उत्पादनलाई मुख्य जोड दिने कार्यका लागि तन्तु प्रजनन केन्द्र फलदायी साबित हुने अपेक्षा गरिएको आत्रेयले बताउनुभयो । गत आर्थिक वर्षमा इटालीबाट नौ हजार २३० वटा हाइडेन्सिटी स्याउको बिरुवा ल्याएर मुस्ताङमा वितरण गरेको थियो । पछिल्लो समयमा स्याउ खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै इटालीबाट स्याउको बिरुवा मगाउन पर्ने अवस्था अन्त्य गर्न तन्तु प्रजनन प्रयोगशाला फलदायी हुने आत्रेयको भनाइ छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रमअनुसार स्याउ जोन मुस्ताङले जिल्लाभित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकाले स्याउ जोन मुस्ताङमार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका नौ हजार २३० उच्च घनत्व (हाइडेन्सिटी) स्याउको बिरुवा वितरण गरेको थियो । स्याउ जोनका वरिष्ठ कृषि अधिकृत सुधीर थापाका अनुसार ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको बिरुवा जोमसोम आइपुग्दा प्रतिबोट एक हजार १७० रुपियाँ खर्च लागेको थियो ।
तन्तु प्रजनन प्रयोगशाला सञ्चालनमा आएसँगै उक्त प्रयोगशालाबाट रुट स्टक उत्पादन गरी हाइडेन्सिटी स्याउको बिरुवा मुस्ताङमै उत्पादन गर्न सकिने शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । आत्रेयका अनुसार प्रयोगशालाबाट टिस्यु कल्चर माध्यमबाट गुणस्तरीय एवं रोगमुक्त बिरुवा उत्पादन गरी कृषकलाई उपलब्ध गराउने मुख्य लक्ष्य हो । शीतोष्ण हावापानीमा हुने फलफूलका गुणस्तरीय बिरुवा उत्पादन गरी कृषकलाई उपलब्ध गराउनु नै तन्तु प्रजनन प्रयोगशालाको मुख्य काम हो ।
अहिले मुस्ताङमा स्याउ, दाँते ओखर तथा कागजी बदामको बिरुवाको माग उच्च भएकाले सोहीअनुसारको उत्पादनका लागि तन्तु प्रजनन प्रयोगशालाले काम गर्नेछ । शीतोष्ण हावापानी हुने मुस्ताङ तथा त्यस्तै हावापानी हुने अन्य जिल्लामा पनि मागअनुसार उत्पादनका लागि प्रयास हुने निमित्त कार्यालय प्रमुख आत्रेयले बताउनुभयो । तन्तु प्रजनन केन्द्रको उद्घाटन गर्दै राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरका प्रमुख डाक्टर शान्ता कार्कीले यस केन्द्रलाई उत्कृष्ट केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले शीतोष्ण फलफूलका माउबोट, प्राविधिक तालिम केन्द्र एवं शीतोष्ण फलफूलको क्षेत्रमा विशेषज्ञताप्रति ध्यान दिनसमेत आग्रह गर्नुभएको थियो । केन्द्रको क्रियाकलापहरू अहिले पनि उत्कृष्ट रहेको बताउँदै कार्कीले यसलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि जग्गा अपुग देखिएकाले स्थानीय समाजसेवी एवं राज्यका निकायहरूले पनि पहल एवं समन्वय गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?