सिराज खान
नेपालगञ्ज, असोज १६ गते । दशैं तिहार नजिकएसंगै नेपाली उपभोक्ताले फेरी एक पटक सीमाना पारी रुपैडियामा गएर खरिदारी गर्ने क्रम बढेको छ ।
कोरोना भाइरस संक्रमणका कारण अझै पनि पूर्ण रुपमा सीमा नाका सुचारु भएको छैन । तर, कोरोना कहरकैबीच रूपैडिया बजार नेपाली ग्राहकको भीडले भरिभराउ छ ।
यता नेपालगञ्ज बजारमा अझैपनि दसैंको रौनक देखिएको छैन । नगरका अधिकांश व्यवसायिक पसल भने सुनसान देखिएका छन् । कोरोनाको यस्तो महामारिमा समेत नेपाली उपभोक्ताले सीमापारीको भारतीय बजार धाउन नछाडेको जनाउँदै अहिले दिनहुँ दुई हजारदेखि चार हजारसम्म नेपाली उपभोक्ता सामान्य किनमेलका लागि भारतीय बजार रुपैडिया पुगिरहेको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
सीमानामा कडाई नगरिंदा तथा सीमापारीबाट ल्याएको सामानको भन्सार राजस्व असुली नगरिँदा दैनिक तीन करोड भन्दा बढीको सामान मुख्य नाकाबाटै भित्रिरहेको संघले जनाएको छ ।नुनदेखि लत्ताकपडासम्म खरिदका लागि दिनहुँ ठूलो संख्यामा नेपाली उपभोक्ता रुपैडिया जाने गरेकोले नेपालगञ्जको बजारमा व्यापार अतिनै प्रभावित भएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताउनुभयो ।
उहाँले कोरोनाको पहिलो लहर र दोस्रो लहरमा सीमानामा कडाई गरिएकोले नेपालगञ्जको व्यवसाय राम्रो चलेको जनाउँदै तर अहिले आएर फेरि सबै सीमापारी नै जान थालेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भन्सार राजस्व नतिरेर कुनै पनि सामान ल्याउन नदिन पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएकाले यस्तो भएको बताउनुभयो ।
दशैंँको किनमेल गर्न भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेकोले नेपालगञ्जको व्यापार निकै घटेको स्थानीय व्यवसायी रविन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्जमै सस्तो पाइने सामान किन्न समेत नेपाली उपभोक्ता भारतीय बजारमा जाने गरेका छन् । यसले यहाँको बजार फस्टाउनुको साटो धरासयी बन्दै गएको छ ।
रुपैडियामा सामान खरिद गरिरहेको अवस्थामा भेटिनु भएका कोहलपुर १ का दिपक थापाले कोरोनाले गर्दा सीमाना बन्द भएपछि नेपालगञ्जका व्यवसायीले मनपरी मूल्य बढाएर हैरान पारेकोले यहाँ आउनुपरेको बताउनुभयो । नेपालगञ्ज उद्योग बाणिज्य संघका अनुसार भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताले प्रत्येक दिन करीब तीन करोड बराबरको घरायसी सामान खरीद गर्ने गरेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण केही समय नेपाली उपभोक्ताले भारतीय बजारमा जान छाडे पनि अवस्था सहज बन्ने वित्तिकै फेरि सबै उतैतिर जान थालेका छन् ।