logo
२०८२ भाद्र १० मंगलवार



होटलमा बढ्यो चहलपहल

अर्थ |


होटलमा बढ्यो चहलपहल


हुम्ला समाचारदाता

हुम्ला, असोज १७ गते । नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने क्रम सुरु भएसँगै सिमकोटका होटलमा बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दुई वर्ष लगातार बन्द रहेका होटलहरू पर्यटक आगमन बढेसँगै खुल्न थालेपछि व्यवसायीसमेत खुसी भएका छन् ।
होटल कैलाशका सञ्चालक रिन्जिन लामाले दुई वर्षपछि होटलमा पर्यटक आउन थालेपछि यस क्षेत्रमा चहलपहल सुरु भएको जानकारी दिनुभयो । उहाँले लामो समयपछि नौ जना भारतीय पर्यटकको टोली लाप्चाबाट मानसरोवर कैलाशको दर्शनका लागि सिमकोट आउँदा सुनसान होटल खुलेको बताउनुभयो ।
यता होटल विजयका सञ्चालक गोर्खबहादुर लामाले केही साताअघि सद्गुरु लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न आएयता होटल भरिभराउ हुन थालेको उल्लेख गर्नुभयो । उहाँको होटलमा सातवटा पर्यटकको टोली आइसकेको छ । होटल व्यवसाय सुनसान भएका बेला पर्यटक आउन थालेसँगै चहलपहल बढ्न थालेको उहाँको भनाइ छ ।
उहाँले पर्यटक आगमन भएपछि व्यवसायीमा खुसियाली छाएको बताउनुभयो । सिमकोट आइपुगेका पर्यटक एक रात सिमकोटमा बास बस्ने गर्छन् । एक रात बास बसेपछि पर्यटकबाट कोठाअनुसार दुई हजारदेखि दुई हजार ५०० रुपियाँसम्म शुल्क लिने गरिएको छ । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । कोरोना कहर कम र मौसम पनि सफा भएका कारण पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?