logo
२०८२ भाद्र १० मंगलवार



एघार हजार रूख काट्नुपर्ने

अर्थ |


एघार हजार रूख काट्नुपर्ने


राममणि दाहाल

हेटौँडा, असोज १८ गते । सङ्घीय सरकारको गौरवको आयोजनाका रूपमा मयूरधाप औद्योगिक क्षेत्र निर्माणका क्रममा झन्डै ११ हजार रुख काट्नुपर्ने भएको छ । हेटौँडा उपमहानगरपालिका–१३ र १४ वडामा स्थापना हुने मयूरधाप औद्योगिक क्षेत्र आयोजना निर्माणका क्रममा १९ प्रजातिका रुख तथा बोट बिरुवा प्रभावित हुने भएको हो ।
प्रस्तावित आयोजना शिलान्यास भएको सात महिनापछि सार्वजनिक गरिएको वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदनअनुसार रुख आकारका ३४९ र १० हजार ४२६ वटा पोल आकारका मुख्य गरी सालका गरी १० हजार ७७५ वटा रुख कटान गर्नुपर्ने हुन्छ । आयोजना निर्माणका क्रममा अधिकांश सालका रुख काटिनेछन् ।
वन तथा वातावरण मन्त्रालयले सुझावका लागि सात दिनको समय सीमा राखेर सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदनमा आयोजना क्षेत्रमा ५० प्रजातिका चराचुरुङ्गी र १३ प्रजातिका घस्रने जीवजन्तु पाइनेमध्ये नौ स्तनधारी, दुई पन्छी र तीनवटा घस्रने जनावर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जोखिम वर्गमा सूचीकृत गरिएको उल्लेख छ ।
औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्न भएको ढिलाइका कारण शिलान्यास भएर पनि औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन ।
औद्योगिक क्षेत्रका परियोजना प्रमुख राजेन्द्र कँडेलले औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन (ईआईए रिपोर्ट) तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले मस्यौदा सार्वजनिक भएको बताउँदै राय सुझाव र प्रतिक्रिया प्राप्त भएमा त्यसलाई समेटेर आगामी कात्तिम मसान्तसम्ममा ईआईए रिपोर्टले अन्तिम रूप पाउने सम्भावना रहेको बताउनुभयो ।
“ईआईए रिपोर्ट नभएका कारण औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणको काम सुरु हुन नसकेको हो,” उहाँले भन्नुभयो, “ईआईए रिपोर्ट वन तथा वातावरण मन्त्रालयबाट स्वीकृतिसँगै आयोजना निर्माणका लागि बजेट स्वीकृत र आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । उहाँले भन्नुभयो, “गत फागुन महिनामा नै मन्त्रालयमा ईआईए रिपोर्ट स्वीकृतिका लागि पठाएका थियौँ । ”
प्रस्तावित मयूरधाप औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भएको पाँच वर्ष पुग्नै लाग्दा गत फागुन १४ गते तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्दै औद्योगिक क्षेत्रको निर्माणको काम तत्कालै सुरु हुने बताउनुभएको थियो ।
२०७२ चैत १ गते मन्त्रिपरिषद् बैठकले मयूरधापमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।
१३४.८६ हेक्टर क्षेत्रफलमा फैलिएको प्रस्तावित औद्योगिक क्षेत्रमा ६२ वटा प्लट रहनेछन् । रङरोगन, दुग्ध उत्पादन उद्योगहरू, साबुन कारखाना, खाद्य, प्लास्टिक, स्टिल, रबर, तार, डिस्टिलरी, कपडा, छाला, सिमेन्टलगायतका उद्योगहरू रहने मस्यौदा ईआईए रिपोर्टमा उल्लेख छ । औद्योगिक क्षेत्रको जमिन औद्योगिक प्लटसँगै सडक, आवासीय क्षेत्र, प्रशासनिक क्षेत्र, सेवा क्षेत्र, मुद्रण विभाग, सशस्त्र प्रहरी बेस क्याम्प, फोहोर पानी प्रशोधन केन्द्र, हरित क्षेत्र, मध्यवर्ती क्षेत्रका लागि उपयोग गरिनेछ ।
कुल लागत छ अर्ब ७१ करोड २१ लाख ४९ हजार ९७८ रुपियाँ रहेको औद्योगिक क्षेत्र स्थापना भई उद्योग सञ्चालनमा आएपछि करिब ५० हजार जनाले प्रत्यक्ष रूपमा रोजगारी पाउने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?