logo
२०८१ जेष्ठ ७ सोमवार

  सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना  



सुरुङको मुख फराक बनाउन थप जग्गा अधिग्रहण गरिदै

अर्थ |
प्रदेश |


सुरुङको मुख फराक बनाउन थप जग्गा अधिग्रहण गरिदै


बाबुराम देवकोटा
कुसुमटार (सिन्धुली), असोज १८ गते । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माणका लागि थप जग्गा अधिग्रहण गरिने भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका– २ कुसुमटारमा सुरुङको मुख साङ्गुरो हुने भएपछि मुख फराकिलो बनाउन १३ जना किसानको एक बिघा जग्गाको मुआब्जा निर्धारण गरी अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यिय आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार कुसुमटारमा थप जग्गा अधिग्रहणका लागि १३ जना किसानको उक्त जग्गासहित पाँच परिवारको घर परेको छ । गत शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला मुआब्जा रकम निर्धारण समितिको बैठकले ती जग्गा र उक्त जग्गामा रहेका बोटबिरुवा तथा भौतिक संरचनाको मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरी अधिग्रहण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

आयोजनाका वरिष्ठ भूगर्भ जलबिज्ञ (सिनियर डिभिजनल हाइड्रोजियोलोजिस्ट) विश्वबन्धु केसीले थप जग्गा अधिग्रहणका लागि करिब तीन करोड रुपियाँ आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जग्गाको मुआब्जा एक जना किसानले न्यूनतम सात लाख ७० हजार रुपियाँदेखि अधिकतम ११ लाख रुपियाँसम्म पाउने भएका छन् । घर र बोटबिरुवाको पनि क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ ।’

यसअघि कुसुमटारका ७५ जना व्यक्तिको ७७ कित्ता जग्गा अधिग्रहण गरिएको वरिष्ठ भूगर्भ जलबिज्ञ केसीले बताउनुभयो । उहाँका अनुसार गत बर्ष किसानलाई मुआब्जा बितरणका लागि करिब ३० करोड रुपियाँ खर्च भएको थियो । जग्गा अधिग्रहणको क्रममा १७ घर परिवार विस्थापित भएका थिए । आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्रमा २० हेक्टर जमिन अधिग्रहण गरिएको छ भने १५३ जना किसानलाई मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ ।

भेरी बबई आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक) ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पनि सुरुङ खन्ने ठेक्का पाएको छ । कुसुमटारमा अहिले उक्त निर्माण कम्पनिले आफ्नो बस्ने ठाँउ र क्याम्प निर्माण गरिरहेको छ । कम्पनीले क्याम्प निर्माण सकेपछि सुरुङ खन्ने काम सुरु हुने र त्यसका लागि अझै सात महिना लाग्ने जलबिज्ञ केसीले बताउनुभयो ।

उहाँकाअनुसार आयोजनाको निर्माण कार्य आर्थिक बर्ष २०८२–८३ सम्ममा सक्ने लक्ष्य रहेको छ । सो आयोजनाको सुरुङ भने टनेल बोरिङ मेशनि (टीबीएम) ले खनिने भएको छ । यसअघि नेपालको पहिलो आयोजनाको रुपमा रहेका भेरी बबई डाइभर्सन आयोजनामा टीबीएमले सुरुङ खनेको थियो ।

सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी १३ दशमलब तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । आयोजना निर्माण गर्न कूल ४६ अर्ब १९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्न झण्डै ३० अर्ब रुपियाँ लाग्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?