logo
२०८१ जेष्ठ ७ सोमवार



ढुवानी व्यवस्था भएपछि बाजुराका स्याउ बजारमा विक्री शुरु

अर्थ |
प्रदेश |


ढुवानी व्यवस्था भएपछि बाजुराका स्याउ बजारमा विक्री शुरु


शेरबहादुर सार्की
बाजुरा, असोज २० गते । जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा उत्पादन भएको स्याउ मार्तडी बजारमा आइपुगेको छ ।

बाजुराका विभिन्न ठाउँका सडक बाढीपहिरोका कारण लामो समयदेखि अवरुद्ध भएपछि किसानलाई स्याउ बजारसम्म ल्याउन समस्या भएको थियो । कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाका स्याउ किसानलाई ढुवानी अनुदानको व्यवस्था गरिदिएपछि बल्ल स्याउ सहज भएको हो ।

बूढीनन्दा नगरपालिका स्याउ किसानका अनुसार स्याउ पाकेको समयमा पनि मार्तडी कोल्टी सडक नखुलेकाले बोकेर बजारमा ल्याउन कुषकलाई समस्या भएको थियो । यतीबेला खच्चरबाट ढुवानी गर्न कृषि ज्ञान केन्द्रले किसानलाई अनुदानको व्यवस्था गरिदिएपछि बाजुराका विभिन्न ठाउँमा स्याउ पुगेको स्थानीयले बताएका छन् ।

गतवर्षझैं यो वर्ष पनि बाजुराका स्याउ किसानलाई ढुवानी अनुदान मिलेपछि उनीहरुले स्याउ बाजुराका विभिन्न बजारमा बिक्री गर्न पाएका हुन् । यसअघि स्याउ बिक्री गर्न बजार नपाएर गाईगोरुलाई खुवाउँदै आएका कृषकले ढुवानीको व्यवस्था भएपछि स्याउ बिक्री गरेर किसानहरुले लाखौं रुपियाँ कमाउन थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

स्याउ बारीबाट सडकसम्म ढुवानी गर्नेगरी यो वर्ष पनि किसानलाई चार लाख बयालीस हजार पाँचसय रुपियाँ अनुदान दिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिंजापतीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?