गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आउँदो शुक्रबारदेखि खसीबोकाको बेच्न थाल्ने भएको छ । कम्पनीले यस वर्षको दशैँका लागि दुुई हजार खसीबोका काठमाडौँमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार ५५० वटा खसीबोका बिक्री गरेको कम्पनीले यस वर्ष दुुई हजार खसीबोका बिक्री वितरण गर्ने तयारी गरेको हो ।
कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैँमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । गत वर्षदेखि च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्यधिक महँगो भएको भन्दै कम्पनीले बिक्री नगरिने यसअघि नै जानकारी गराइसकेको छ । खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले घटस्थापनापछि २२ गतेदेखि राजधानीमा खसीबोका बिक्री वितरण सुरु गर्ने गरी तयारी भएको जानकारी दिनुुभयो ।