logo
२०८१ जेष्ठ ८ मंगलवार



खसीबोका बेचेबापत कृषकलाई अनुदान व्यवस्था

अर्थ |
प्रदेश |


खसीबोका बेचेबापत कृषकलाई अनुदान व्यवस्था


सुजल श्रेष्ठ
प्युठान, असोज २१ गते । सरुमारानी गाउँपालिका– ३ का निमाकुमारी रखालले बाख्रापालन व्यवसाय गर्नुहुन्छ । पालेको खसीबोका गाउँकै शान्तिकुञ्ज सहकारीमार्फत उहाँले बेच्दै आउनुभएको छ । विगत तीन वर्षदेखि सहकारीमार्फत खसीबोका बेच्न थालेको रखालले बताउनुभयो ।

“३०–४० वटा बाख्रा पाल्दैआएको छँु,” उहाँले भन्नुभयो, “वर्षेनी १०–१५ वटा सहकारी मार्फत बिक्री हुन्छ ।” सहकारीबाट बेच्दा खसीबोकाको मुल्यसहित थप अनुदान पाउनेगरेको उहाँले बताउनुभयो । “तौल नगरी बेच्दा घाटा हुनसक्छ,” उहाँले थप्नुभयो, “आफ्नै आँखा अगाडि जोखेर बेच्न पाइन्छ, अनुदान पनि मिल्छ ।”

गाउँकै दुरमाया रानाले पनि तौल गरेरै खसीबोका बेच्दै आउनुभएको छ । पहिले तौल नगरी अनुमानमा बेच्ने गरेपनि गाउँमा सहकारी स्थापना भएपछि तौल गरेर खसीबोका बेच्न थालेको रानाले बताउनुभयो ।

सात वर्षअघि स्थापना भएको सहकारीले चार वर्षदेखि खसिबोका खरिद विक्री गर्दैआएको छ । सहकारीका व्यवस्थापक टेम्पल सारुले वर्षेनी करिव नौ सयको हाराहारीमा खसीबोका खरिदविक्री गर्दैआएको बताउनुभयो ।

सरुमारानी गाउँपालिका १ मा सक्रिय सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले पनि खसिबोका खरिद विक्री गर्नेगरेको छ । दश वर्षअघि स्थापना भएको सहकारीले चार वर्षदेखि खसीबोकाको कारोबार थालेको हो । स्थानीय सरकार, सहकारी र व्यापारीको संयुक्त बैठकबाट खसीबोकाको मुल्य निर्धारण गर्ने गर्छन् ।

दुवै सहकारीलाई हेफर इन्टरनेशनल नेपाल, सरुमारानी गाउँपालिकाले सहयोग गर्दैआएको छ । दुई वर्षका लागि ग्रामीण विकास समाज नेपालले कार्यक्रम सञ्चालन गर्नेगरि गतिविधि अघि बढाएको छ । संस्थाका कार्यक्रम संयोजक बेदराज शर्माकाअनुसार कार्यक्रमका लागि सरुमारानी गाउँपालिकाले तीन करोड १५ लाख र हेफर इन्टरनेशन नेपालले एक करोड पाँच लाख रुपियाँ लगानी गर्ने सम्झौता भएको छ ।

“दुवै सहकारीले यो वर्ष १५ सय गोटा खसीबोका खरिदविक्री गर्ने लक्ष्य लिएका छन्,” शर्माले भन्नुभयो “खसीबोका उत्पादनमा यस क्षेत्रका किसान समेत क्रियाशील रहँदैआएका छन् ।” कार्यक्रममार्फत ४५० वटा बाख्रा, ६८ ब्याड बोका वितरण, खोर निर्माण, सुधार, तालिम लगायतका कार्यक्रम गरिने शर्माले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले गत वर्ष १२ लाख रुपियाँ किसानलाई खसीबोका विक्रीमार्फतको अनुदान दिएको थियो । कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भाष्कर पौडेलकाअनुसार प्रतिकिलो २५ रुपियाँका दरले किसानलाई अनुदान दिएको बताउनुभयो । “यो वर्ष पनि कार्यक्रम रहेको छ,” उहाँले भन्नुभयो, “दुधमा पनि प्रतिलिटर दुई रुपियाँ अनुदान दिने गरेका छौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?