logo
२०८१ जेष्ठ ४ शुक्रवार



छुटदेखि महाछुटसम्म

अर्थ |


छुटदेखि महाछुटसम्म


भेषराज बेल्बासे

काठमाडौँ, असोज २४ गते । कुनै समय थियो मुख्य सपिङ मलहरूमा बम्पर उपहारमा दिइने सामानहरू प्रदर्शन गरेरै दशैँ उपहार योजना सुरु गर्थे । अहिले त बजारमा छुट र अफरबिना कुनै सामान नै छैनन्जस्तो देखिन थालेको छ ।
उपभोक्ता अहिले वास्तविक मूल्यभन्दा अस्वाभाविक बढाइएकै मूल्यमा किन नहोस् सानोतिनो छुट नभई नहुने मनोविज्ञानबाट ग्रस्त छन् । सर्वसाधारणको यही मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाहरूले पनि दशैँमा लागि छुट र अन्य योजना ल्याएका छन् ।

चाडपर्वका बेलामा खरिददारी गर्नेलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूले सवारीसाधनदेखि विभिन्न अफर पस्कने क्रम निकै मौलाएको छ । मध्यम वर्गसमेतलाई आकर्षित गर्ने अफर फर्माएपछि दशैँको चहलपहलसँगै बैङ्कहरूमा पैसा झिक्नेदेखि राख्नेसम्मको चहलपहल पनि ह्वात्तै बढेको छ ।

हुन त नेपाल राष्ट्र बैङ्कले भदौदेखि नयाँ नोट साट्ने माहोल बनाएपछि बजारमा पूर्वदशैँ लक्षण सुरु भएको हो । सबै र सधैँझैँ दशैँको मुख्य विशेषता नै नयाँ नोट भए पनि गत वर्ष कोरोनाका कारण नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल बन्न सकेन । अहिले भने कोरोनाको त्रास कम भएकाले बैङ्कले नयाँ नोटसँगै अनलाइन सपिङदेखि छुटका साथै डिजिटल दक्षिणासम्मका योजना अगाडि सारिरहेका छन् ।

सेयरको आकर्षण
यति मात्र होइन दशैँ सेयरको लोभ पनि पस्केका छन् । नबिल इन्भेस्टमेन्ट बैङ्कले ‘आजीवन डिम्याट खाता’ अफर गरेको छ त्यो पनि आजीवन । डिम्याट खाता खोल्दा जीवनभर नवीकरण गर्ने झन्झटबाट मुक्त हुने सुविधा नौरथाभर दिइएको छ ।

नबिल बैङ्कले पनि ‘नबिल दशैँ धमाका’ अफरअन्तर्गत बैङ्कका कार्डवाहकलाई बिग मार्ट, दराज र किरानामा छुट र नगद फिर्ताको व्यवस्था गरेको छ । बैङ्क अफ काठमाण्डूले ल्याएको स्मार्ट दशैँ अफरअन्तर्गत कार्डबाहक ग्राहकले स्मार्ट डोको ई–कमर्स एप्सबाट नगद फिर्ता पाउने भएका छन् ।
एभरेस्ट बैङ्कले ‘एभरेस्ट उत्सवमय अफर’अन्तर्गत घर कर्जा, स्वरोजगारी तथा उद्यमीको लागि साना तथा मझौला उद्योग कर्जा, विभिन्न सवारीसाधन कर्जा र व्यक्तिगत कर्जा योजना ल्याएको छ ।

महाछुट
यता एनएमबी बैङ्कले महाछुट नै ल्याएको छ । यस अफरमा ग्राहकले सीजी डिजिटल तथा एलजी सोरुमहरूबाट एलजी, सीजी, गोद्रेज टीसीएल, सेन्सेई, केन्ट, एलिका र ब्लाक प्लस डेकोरको सामान खरिदमा छुट पाउने जनाएको छ ।
सानिमा बैङ्कले भने सस्तो डिल ल्याएको छ । ‘बिग डिल एट सस्तो डिल’ योजनामा सस्तो डिलबाट सामान किन्दा बैङ्कको डेबिट कार्ड वा क्रेडिटबाट भुक्तानी छुट दिइने भएको हो । कुमारी बैङ्कले दराजसँगको सहकार्यमा छुटको व्यवस्था गरेको थियो ।

एनआईसी एसिया बैङ्कले विदेशबाट रकम पठाउँदा खातावालाले बोनस पाउने योजना ल्याएको छ भने कामना सेवा विकास बैङ्कले एनआरएन बचत खातामार्फत वैदेशिक रोजगारमा रहेकालाई विशेष ब्याजदर दिएको छ । बैङ्कले यो खातामा पहिलो वर्ष मोबाइल र इन्टरनेट बैङ्किङसमेत निःशुल्क गरेको छ । मुक्तिनाथ विकास बैङ्कले भिसा डेबिट कार्डवाहक र मोबाइल बैङ्किङ ग्राहकलाई आगन्तुक रिसोर्टमा छुटको व्यवस्था गरेको छ ।

सरकारी बैङ्कहरू पनि स्पर्धामा
निजी बैङ्कहरू मात्र होइन सरकारी स्वामित्वका बैङ्क पनि यसमा लागेका छन् । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेलको माध्यमबाट कारोबार गर्दा नगद फिर्ता हुने अफर ल्याएको छ । अर्को सरकारी बैङ्क नेपाल बैङ्क लिमिटेडले दुईवटा विशेष सुविधासहितको बचत खाता सञ्चालनमा ल्याएको छ । यस बैङ्क र नेपाल टेलिकमबीच निःशुल्क सिमकार्डको साझेदारी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?