गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १ गते । सरकारले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेका सुुपथ मूल्य पसल आइतबारबाट पुुनः सञ्चालनमा ल्याएको छ । दशैँ बिदामा पाँच दिन बन्द गरिएका ती पसल आइतबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थान (डीडीसी) आआफ्नो तरिकाले दशैँ, तिहार र छठ पर्वको अवसरमा दैनिक उपभोग्य वस्तुमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।
खाद्य व्यापार कम्पनीले उपत्यकाका चार स्थानसहित ३९ जिल्लाका बिक्री केन्द्रसमेत गरेर ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको जनाएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकामा तीन मोबाइल भ्यानसहित गरी नौ स्थान र उपत्यकाबाहिर २३ स्थानमा गरी ३२ स्थानमा सुुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । ती कम्पनीले असोज १ देखि ती स्थानमा पसल सञ्चालन गर्दै आएका थिए ।
खाद्य कम्पनीले चामल, दाल, फापर पिठोमा प्रतिकेजी पाँच रुपियाँ, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर पाँच रुपियाँ छुट दिने भएको छ भने भटमासको तेल प्रतिलिटर १० रुपियाँ, खसीबोकाको जिउँदो मासुु प्रतिकेजीमा १० छुुट दिएको थियो । यसैगरी उपभोक्ताले कर्णालीको सिमी र फापरको दानामा प्रतिकेजी १० रुपियाँ छुट पाएका छन् ।
कम्पनीले दशैँमा दुुई हजार खसीबोका ल्याएर बिक्री पनि गरिसकेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन हेलिकप्टर, हवाईजहाज र पैदल बाटो प्रयोग गरी खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउने काम गरिरहेको जानकारी दिनुुभयो ।
कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण बढी भीडभाड नहोस् भन्ने उद्देश्यले सरकारले गत वर्षभन्दा यो वर्ष एक साताअगाडि सुुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारले गत वर्ष घटस्थापनाको १५ दिन अगाडिदेखि मात्र पसल सञ्चालन गरेको थियो ।
सहुलियत मूल्यको पसल आगामी कात्तिक २४ सम्म सञ्चालन हुनेछ । कर्पोरेसनले तत्काल चिनी प्रतिकेजी पाँच रुपियाँ र नुुन र अन्य चामल, दाल, पिठोलगायतका खाद्यवस्तुुमा अन्य समयभन्दा प्रतिकेजीमा दुुई रुपियाँ छुुट दिँदै आएको जनाएको छ ।