विष्णुप्रसाद पोखरेल
दमक, कार्तिक ९ गते । झापाको गौरादहमा नेपालमा नै पहिलो पटक ‘कृषि होमस्टे’को औपचारिक शुरुवात भएको छ । देशभरका कृषि पर्यटकहरुलाई लक्षित गरेर गौरादहको महारानीझोडामा महिलाहरुमात्र सदस्य रहेको महारानीझोडा साना किसान सहकारी सस्थाद्धारा प्रवद्र्धन गरिएको ‘नमुना एकीकृत सहकारी खेती’को परिसरभित्र आधु्निक होमस्टे शुरु भएको हो ।
सोमबार पूर्व प्रधानमन्त्री एवं झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीले औपचारिक रुपमा यसको उद्घाटन गर्दै देशमा नै पहिलो पटक यस प्रकारको कृषि होमस्टे यहाँ बनेको बताउदै यो निरन्तर सञ्चालनका लागि शुभकामना दिनुभयो । उहाँले यो यस क्षेत्रको मात्र नभएर देशको नै गौरव भन्न लायक रहेको पनि बताउनुभयो ।
स्थानीय किसानको जमिन एकीकृत गरी चक्लाबन्दी गरेर एकै स्थानमा कृषिका विभिन्न खेती सञ्चालन गर्दै किसानलाई रोजगारी र गुणस्तरीय उत्पादनमा नुमना मानिएको यसलाई सरकारले नेपालको पहिलो कृषि पर्यटकीय क्षेत्र घोषणा गरेको थियो । ३ वर्ष अघि सरकारले घोषणा गरेको देशभरका एक सय पर्यटकीय केन्द्रहरुमध्ये यो पनि एक हो ।
नमुना सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाँईका अनुसार एकिकृत रुपमा ‘कृषि होमस्टे’, कोसेली घर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाइएको छ । एक करोड २० लाखको लागतमा होमस्टे बनेको हो । पर्यटनलाई लक्षित गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसका लागि आर्थिक सहयोग गरेको पनि उहाँको भनाइ छ ।
१२ कठ्ठा जमिनमा सुविधासम्पन्न भवनमा आरामदायी कोठा र एउटा ८० जना अट्ने तालिम कक्ष होमस्टे छ । उहाँ एकैसाथ सहज रुपमा ५० भन्दा बढी पाहुनाहरुलाई राख्न् सकिने जनाइएको छ । कृषि सम्बन्धि आवसीय तालिम तथा छलफल गर्न सहज हुने महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालले बताउनुभयो ।
ढकालका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा होमस्टेसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र आकर्षक चौतारी बनाइएको ढकालले जानकारी दिनु भयो । यसका लागि उक्त मन्त्रालयले ७० लाख रुपियाँ उपलब्ध गराएको उहाँको भनाइ छ ।
महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेड १३० बिगाह क्षेत्रफलमा सामुहिक खेती गर्दै आएको छ । धान, गहुँ, मकैको बिउ उत्पादन पनि सहकारीले यहिबाट गर्ने गरेको छ । बीज प्रशोधन केन्द्र, अग्र्यानिक मल उत्पादन, मकैको हाइब्रिड बीउको उत्पादन तथा अनुसन्धान, दूध सङ्कलन केन्द्र, पशु बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसमा दुई हजार सदस्य सबै महिला छन् ।