logo
२०८२ भाद्र ७ शनिवार



विद्युत् उत्पादन पर्याप्त ‘तिहारमा ढुक्कले बाल्नुहोस्’

अर्थ |


विद्युत् उत्पादन पर्याप्त ‘तिहारमा ढुक्कले बाल्नुहोस्’


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १७ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल उत्पादन भइरहेको विद्युत् खेर जाने अवस्था ठूलो चिन्ताको विषय नभएको बताउनुभएको छ ।
प्राधिकरणद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा पर्याप्त विद्युत् उत्पादन भइरहेको सन्देश उपभोक्तालाई दिन सक्नु निकै सुखद पक्ष भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो “देशमा पर्याप्त बिजुली उत्पादन भएको सन्देश उपभोक्तासम्म पुगेमा घरायसी तथा औद्योगिक क्षेत्र उपभोक्ताको मनोबलसमेत बढ्ने छ । ”
घिसिङले नेपालको विद्युत्को जडित क्षमता दुई हजार मेगावाटभन्दा बढी पुगेको र खपतका हिसाबले अहिले अफ सिजन नै भएकाले केही मेगावाट खेर जाने गरेको पनि स्पष्ट पार्नुभयो । विद्युत् प्रणालीको दिगोपनका लागि पनि मागभन्दा केही बढी मात्रामा बिजुली उत्पादन हुनुपर्ने मान्यता अहिले पूरा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले केही समय बिजुली खेर जाँदा उद्योगी व्यवसायीमा अब आवश्यकताअनुसार बिजुली पाइन्छ भन्ने आत्मविश्वास बढेकोले थप माग हुन थालेको छ । ”
घिसिङका अनुसार हाल दिउँसोको समयमा करिब दुई सय र रातको समयमा पाँच सय मेगावाट बिजुली खेर जाने
गरेको छ ।भदौ अन्तिमदेखि अस्वाभाविक आकस्मिक बाढीका कारण तराईतिर उद्योग तथा प्राधिकरणको पूर्वाधारमा पनि क्षति पुग्दा विद्युत् खपत घटेकाले प्राधिकरणको व्यवसाय नै नोक्सानीमा परेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

तिहारमा ढुक्कले बाल्नुस्
घिसिङले स्वदेशी उत्पादनको बिजुली नै पर्याप्त भएको र आवश्यक परेमा आपूर्तिसमेत गर्न सकिने भएकोले तिहारको समयमा आआफ्नो घरलाई निर्धक्क भएर झिलिमिली बनाउन पनि आग्रह गर्नुभयो । उहाँले विगतका तुलनामा वितरण प्रणाली पनि केही सुधार गरिएकाले आकस्मिक समस्याबाहेक बिजुुली नजाने दाबी पनि गर्नुभयो ।
उहाँका अनुसार असोजमा करिब एक हजार सात सय मेगावाटसम्म बिजुली सहज ढङ्गले आपूर्ति भएको छ । तिहारमा एक हजार पाँच सय मेगावाटसम्म माग आउने प्रक्षेपण छ । त्यसलाई पनि सहज रूपमा वितरण गर्न सक्ने अवस्थामा प्राधिकरण छ ।
पत्रकार सम्मेलनमा घिसिङले आगामी हिउँदामा पनि सहज रूपमा विद्युत् उपलब्ध हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत केही आयोजना थपिएका र कुलेखानीमा जलाशयमा पनि पर्याप्त पानी भएकाले अधिक खपत हुने समयको माग पूरा गर्न पनि आयातित बिजुलीमा खासै भर पर्नुपर्ने अवस्था छैन । ”
उहाँले प्राधिकरण विद्युत् उत्पादनमा पनि थप सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जलाशययुुक्त दूधकोसी, माथिल्लो अरुण, अरुण चार, चैनपुर सेतीजस्ता करिब दुई हजार मेगावाटका आयोजना बनाउन प्राधिकरण अग्रसर छ । ”
उहाँले हालै सरकारले विद्युत् महसुलमा दिएको छुट तथा सस्तो मूल्यले प्राधिकरणको वित्तीय अवस्था नबिग्रने दाबी पनि गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?