गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २३ गते । चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । ट्रान्सफर्मरहरू पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरूलाई पनि आइतबार साँझबाट विद्युत् आपूर्ति गरिएको छ ।
सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटा १३ गते र अर्को १६ गते कात्तिकमा बिग्रिएपछि चितवनका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध रहँदै आएको थियो । नेपाल विद्युत् प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मर हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीएको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति गरेको थियो । कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो ।
सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकाले औद्योगिकसहित सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नहुने प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले जानकारी दिनुभयो ।
सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सबस्टेसनमा १५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ । उक्त सबस्टेसनबाट विद्युत् आपूर्तिका लागि तीनवटा फिडर निकालिसकिएको छ ।
तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मत स्थलमा खटिएको थियो ।