गोकर्ण दयाल
बैतडी, कात्तिक २४ गते । सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट राजनीतिको व्यस्तता हुँदाहुँदै पनि मौरीको मह काढ्न पछि पर्नुहुन्न । जसले मह काढ्छ उसले हात चाट्छ भनेझैँ मौरीपालनको मीठो आम्दानी पनि उहाँ लिनुहुन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)का तर्फबाट प्रदेश सभा सदस्य रहनुभएका निवर्तमान मन्त्री भट्टले बैतडीस्थित दशरथचन्द नगरपालिका–५ मा रहेको आफ्नै घरमा पालेका मौरीबाट वार्षिक तीन लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।
नेकपा (एमाले) बैतडीको संस्थापक सदस्यमध्येका नेता भट्ट हाल नेकपा समाजवादीको सुदूरपश्चिम सहइन्चार्ज एवं प्रदेश सभा सदस्य हुनुहुन्छ । चार दशकदेखि राजनीतिमा होमिनुभएका भट्टले राजनीतिसँगै उत्पादनमा जोडिनुपर्छ भन्दै २०५१ सालदेखि मैरीपालनमा लागेको बताउनुभयो । प्रदेश सरकारको मन्त्रीसमेत हुनुभएका भट्टले जनताको सेवाका लागि आफू लामो समयदेखि राजनीतिमा लागेको बताउनुभयो ।
“२०४८ सालमा कम्युनिस्ट पार्टीको झन्डा बोकेर हिँड्ने म एक्लो महिला थिएँ । गाउँगाउँमा सङ्गठन विस्तार गर्दा कम्युनिस्ट भनेपछि बास मिल्न कठिन हुन्थ्यो”, उहाँले भन्नुभयो, “समाजमा वर्गीय विभेद र लैङ्गिक उत्पीडन कायमै थियो । अहिले पनि यो विभेद हट्न सकेको छैन । सचेत मान्छेले समाज रूपान्तरणका लागि राजनीति गर्ने हो । राजनीतिसँगै उत्पादनसँग पनि जोडिनुपर्छ भनेर मैले मौरीपालन सुरु गरेको हुँ । ”
राजनीतिमा होमिँदा थुप्रै हन्डर खेपेको बताउँँदै नेता भट्टले २०५१ सालदेखि अहिलेसम्म मौरीपालनबाटै घरव्यवहार चलेको बताउनुभयो ।
आफू प्रदेश सरकारको मन्त्री भएपछि आफ्नो वडाका चार सय किसानलाई मैरीपालनमा लाग्न सहयोग गरेको उहाँले बताउनुभयो । कृषकहरूको सहकारी गठन गरेर अहिले नेता भट्टको वडाबाट मात्रै ३५ लाखभन्दा बढीको मह बिक्री हुने गरेको छ ।
माया भट्ट मन्त्री भएपछि दशरथचन्द नगरपालिका–५, का मौरीपालक कृषकहरूले पहिलो पटक २५ लाख रुपियाँ सहयोग प्राप्त गरेको स्थानीय किसान वासुदेव भट्टले बताउनुभयो ।
अगुवा किसान वासुदेवले भन्नुभयो, “माया भट्ट मन्त्री भएपछि मौरीपालक किसानले राम्रो योजना पाए । अहिले हामी सहकारी गठन गरेर सामूहिक मैरीपालनमा लागेका छौँ । हाम्रो वडाबाट मात्रै वार्षिक ३५ लाख रुपियाँभन्दा बढीको मह बिक्री हुने गरेको छ । ”
विकासनिर्माणका अन्य कामसँगै सर्वसाधारण किसानलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बन्न सिकाउनु कम्युनिस्ट नेताको धर्म भएको नेता माया भट्ट बताउनुहुन्छ । कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालदेखि केपी शर्मा ओलीसम्म आफ्नो घरमा बास बस्दा मह खाएको नेता भट्टले स्मरण सुनाउनुभयो ।
आत्मनिर्भर अर्थतन्त्रका लागि प्रत्येक नेपाली उत्पादनसँग जोडिनुपर्ने उहाँले बताउनुभयो ।