logo
२०८२ भाद्र ७ शनिवार



जुनार उत्पादन बढ्ने

अर्थ |


जुनार उत्पादन बढ्ने


सिन्धुली समाचारदाता

रतनचुरा (सिन्धुली), कात्तिक २६ गते । गत जेठ महिनामा परेको असिना पानीले भर्खरका जुनारका चिचिला झार्दा चिन्तित बन्नुभएका गोलन्जोर गाउँपालिका–५, रतनचुराका जुनार किसान निर्मल रम्तेल अहिले खुसी हुनुहुन्छ ।
जेठ महिनामा दुई पटक असिना पानी परेर जुनारका भर्खरका चिचिला सखापै पारेर बोटबाट झार्दा आम्दानी शून्य नै बन्ने भयो भनेर उहाँलाई निकै पिर परेको थियो ।
“असिना पानीबाट बचेका चिचिला अहिले ठूला भएका छन् । असिनाले झारेको त अन्य बाली गोडेको जस्तै भयो । बोटले थेग्नसक्ने मात्रै रहेकाले उत्पादन नै बढ्ने भएको छ,” किसान रम्तेलले भन्नुभयो, “यो वर्ष जुनार यति राम्रो भएको छ कि बयान गरेर साध्य छैन । जुनारका बोट हरिया दानाले भरिएका छन् । असिनाले चिचिला झारेर बाँकी रहेको जुनार यसरी सप्रियो कि अहिले रहरलाग्दो भएको उहाँले सुनाउनुभयो ।

गोलन्जोर गाउँपालिका–४, तीनकन्याका किसान बेगबहादुर आलेमगर जुनार उत्पादन बढ्नेमा ढुक्क हुनुहुन्छ । यो वर्ष प्रकृतिले पनि साथ दिएको उहाँले बताउनुभयो । आले मगरले गत वर्ष जुनार बिक्रीबाट १६ लाखको हाराहारीमा आम्दानी लिएको बताउनुभयो ।
२०३८ सालदेखि जुनार खेती गर्दै आउनुभएका अर्का जुनार किसान जितबहादुर ठकुरीले नौ रोपनी जमिनमा जुनार खेती गर्नुभएको छ । अहिले बगैँचामा २५० बोट जुनार रहेको भन्दै उहाँले भन्नुभयो, “असिना पानीले हिर्काउँदा जुनारका सबै चिचिला झारेकोजस्तो लागेको थियो । सोचेजस्तो रहेनछ, बोटमा बाँकी बसेका चिचिला अहिले राम्रा दाना भएका छन् । ” जिल्लामा मङ्सिरको पहिलो सातादेखि जुनारको सिजन सुरु हुने र फागुनमा सकिने किसान बताउँछन् ।

यस वर्ष जुनार उत्पादन बढ्ने भएपछि किसान उत्साहित छन् । असिना पानीपछि मौसमले साथ दिएको जुनार खेतीमा संलग्न किसानको भनाइ छ । “धेरै किसानले जीविकाको आधार नै जुनार खेती बनाएका छन्,” जुनार किसान ठकुरीले भन्नुभयोे, “सिजनमा जुनार पाकेर बगैँचा नै पहेँलपुर हुन्छ । ” अधिकांश जुनारको बगैँचामा यातायातको पहुँच पुगेकाले व्यापारी जुनार खरिद गर्न बगैँचामा पुग्ने भएकाले किसानलाई जुनार बिक्री गर्न कुनै समस्या नभएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनका प्रमुख देवराज अधिकारीले १५ देखि २० प्रतिशत जुनार उत्पादन बढ्ने अनुमान लगाउनुभयो । क्षेत्रगत कीरा नियन्त्रण अभियानका कारण जुनार खेतीमा औँसा कीराको प्रकोप कम हँुदै गएकाले जुनार उत्पादन राम्रो हुने सङ्केत आएको उहाँको भनाइ छ । जिल्लामा यस वर्ष एक हजार ३४५ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक टन जुनार उत्पादन भएको थियो ।
सिन्धुलीमा गत वर्ष उत्पादन भएको जुनारबाट किसानले झन्डै ७० करोड रुपियाँ भिœयाएको जुनार केन्द्रीय सहकारी सङ्घले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?