logo
२०८२ भाद्र ७ शनिवार



फार्म खोलेर लोकल कुखुरा पालन, किसान उत्साहित

अर्थ |


फार्म खोलेर लोकल कुखुरा पालन, किसान उत्साहित
सिन्धुलीको तीनपाटन गाउँपालिका –११ चकमकेका कृषकले पालन गरेको लोकल कुखुरा 


बाबुराम देवकोटा
तीनपाटन(सिन्धुली), कात्तिक २६ गते । गाँउघरमा समेत स्थानीय (लोकल) जातको कुखुरा मासिदै गएको बेलामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ चकमकेमा एक कृषकले ठूलो परिमाणमा उक्त जातको कुखुरा पालन व्यवसाय गर्नुभएको छ ।
चकमके निवासी कृषक नेत्रहरि दुलालले लाखांै रुपियाँ लगानी गरी लोकल कुखुरा पालन व्यवसाय सुरु गर्नुभएको हो । गत वर्ष परिक्षणका रुपमा लोकल कुखुरा पालेर उत्साहित बन्नुभएका कृषक दुलालले यो वर्ष ह्वात्तै व्यवसाय विस्तार गर्नुभएको हो ।
‘गतवर्ष पाँचसय लोकल कुखुरा पालन गरेका थियौं,’ उहाँले भन्नुभयो, ‘सफल भएपछि यो वर्ष बिस्तार गरिएको छ । परिक्षणका क्रममा धेरै मुनाफा लिन नसकेपनि घाटा भने भएन् ।’ फर्ममा पाल्ने लोकल कुखुरा पालनका लागि उहाँले चल्लाहरु भने बाहिरी जिल्लाबाट झिकाउनु हुन्छ । मोरङ र बुटवलबाट चल्ला ल्याउने गरेको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार लोकल कुखुरा चल्ला प्रतिगोटा खरिद गर्दा दुइसय रुपियाँ पर्छ । स्थानीय जातका लोकल कुखुराको अण्डा सङकलन गरेर ह्याचरीबाट चल्ला निकाल्ने उहाँले बताउनुभयो । ‘चल्ला आयात तथा दानाका लागि पाँचलाख लगानी भएको छ,’ कृषक दुलालले भन्नुभयो, ‘फर्ममा कुखुरा पालन गर्दा चार महिनामा नै तयार हुने भए पनि मासुमा गुणस्तर ल्याउनका लागि छ महिनासम्म पालने गरेको छु ।’
‘मासुमा गुणस्तर ल्याउनका लागि अलि ढिलो समयसम्म पालन गर्ने गरेका छौं, उहाँले थप्नुभयो, ‘छिटै बजारमा लैजादा भोलिका दिनमा ग्राहकले कुखुराको गुणस्तरमा प्रश्नचिन्ह उठाउन सक्छन् । त्यै भएर भोलिको बजारका लागि समेत ध्यानमा राखेर गुणस्तरीयता कायम गर्नमा लागि परेका छौं ।’ फर्ममा पाल्ने लोकल कुखुरा बिहान, बेलुका भने छाडेर चराइने गरेको छ । एकै पटक लोकल कुखुरा खोरबाट छोड्दा रमिता जस्तै देखिने भएकाले वरिपरिका छिमेकी समेत रमाएर हेर्न आउने गरेका छन् ।
बजारको समस्या नरहेको कृषक दुलालको भनाइ छ । ‘हामीले पहिला परीक्षणका क्रममा तयार भएको लोकल कुखुरा प्रतिगोटा एक हजार रुपियाँमा विक्री ग¥यौं,’ उहाँले भन्नुभयो, ‘अब भने तौल गरेर विक्री गछौं ।’ स्थनीय बजार बाहेक राजधानी तथा विभिन्न शहरहरुमा माग बमोजिम निर्यात गर्ने कृषक दुलालको सोचाइ छ ।
उहाँका अनुसार एउटा लोकल कुखुरा तयार हुँदा डेढदेखि दुइ किलोसम्मको हुने गरेको छ । लोकल कुखुराको भाले बजारमा विक्री हुन्छ भने पोथी जातका कुखुरा पालन गर्नका लागि गाउँघरमा नै विक्री हुने गरेको छ । एकै पटक छोड्दा ठुलाले सानालाइ ठुँगेर हैरान बनाउने भएकाले फरक समयमा चराउने गरिएको छ ।
दाना बाहेक लोकल कुखुराले चर्न मन पराउने भएकाले प्रत्येक दिन चार÷पाँच घण्टा छोडेर चराउने गरिएको फर्मकी व्यवस्थापक भगवती श्रैष्ठले बताउनुभयो । ‘चार महिना जतिको भएपछि घाँस नै खान्छ,’ उहाँले भन्नुभयो, ‘दानाभन्दा स्थानीयस्तरमै पाइने मकै, धान, गहुँलाइ पिसेर दाना बनाइने गरेको छ ।’
परीक्षणमा गतवर्ष पालेको पाँचसय लोकल कुखुरामध्ये एक सय मरेको उहाँले सुनाउनुभयो । ‘समयमा नै उपचार नगर्दा एक लाख रुपियाँ बराबरको क्षति बेहो¥यौं, यो वर्ष हामी सचेत छौं,’ उहाँले भन्नुभयो, ‘यो वर्ष एउटा चल्ला पनि मरेका छैनन् । राम्रो भएमा खर्च सबै कटाएर शतप्रतिशत मुनाफा हुनेमा आशावादी छौं ।’ २० लाख रुपियाँ आम्दानी हुनेमा ढुक्क हुनुहुन्छ ।
कहीँकतैबाट अनुदान नलिएको कृषक दुलालको फर्मले प्राविधिक सहयोग भने गाउँपालिकाबाट पाएको छ । गाउँपालिकाको पशुसेवा प्राविधिक जयन्त कार्कीका अनुसार दुलालको कुखुरा पालन नमुनाको भएकाले प्राविधिक सहयोगमा कमी गरिएको छैन । ‘प्राविधिक सहयोग मागेको समयमा हामी जाने गरेका छौं,’ उहाँले भन्नुभयो, ‘रानीखेत लगायतका समस्या आएमा उपचार भइहाल्छ ।’
फर्ममा कालिज, बट्टाइ र टर्की पालन गर्ने सोचाइ रहेको उहाँले सुनाउनुभयो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?