काठमाडौं, कात्तिक २६ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को शुक्रबार बसेको स्थायी कमिटीको बैठकले भोलि शनिबारदेखि सुरु हुने दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डाहरु तय गरेको छ ।
नेकपा (एस)को केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र निर्वाचन आयोगमा रहनुभएका सदस्यहरुलाई शपथ ग्रहण गराइने पार्टी केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले बताउनुभयो । देशैभरबाट झण्डै चार सय ५० केन्द्रीय सदस्यहरुको सहभागिता रहने बैठकमा सातै प्रदेशस्तरबाट पार्टीको गतिविधिबारे रिपोर्टिङ लिइने उहाँले बताउनुभयो ।
यसैगरी नेकपा (एस)बाट सरकारको नेतृत्वमा जानुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विराध खतिवडाले पाँच दलीय सत्ता गठबन्धनको सरकारमा सामेल भइसकेपछि भएका क्रियाकलाप र आगामी दिनमा जनताको पक्षमा गर्नुपर्ने कामका विषयमा जानकारी गराउनुहुने पनि उहाँ बताउनुहुन्छ । यस लगायत प्रदेश नम्बर १ र बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीद्वय राजेन्द्र राई र राजेन्द्र पाण्डेले आगामी कार्ययोजना प्रस्तुत गर्ने एजेण्डा नेकपा (एस) को स्थायी कमिटीको बैठकले एजेण्डा तय गरेको हो ।
यसलगायत पार्टीको केन्द्रीय सचिवालय र कार्यालयबाट भएका काम र सकुर्लर अनुमोदन हुने, प्रचार तथा प्रशिक्षणको योजना प्रस्तुत गरिने उहाँले जानकारी गराउनुभयो ।