गाईघाट समाचारदाता
गाईघाट, कात्तिक २७ गते । उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमता वृद्धिका लागि दुई नयाँ योजना अगाडि सारेको छ ।
पुराना मेसिन र प्रविधिबाट सञ्चालन हुँदै आएको सिमेन्ट उत्पादन गर्ने प्लान्टले पूर्वनिर्धारित क्षमताअनुरूपमा क्लिङ्कर उत्पादन गर्न नसक्ने भएपछि उद्योग व्यवस्थापनले नयाँ प्रविधि भिœयाएर लागेको हो । उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न करिब ५० करोड रुपियाँको खर्चेर दुई प्लान्ट जडान गर्न लागेको हो ।
तीन दशकअघिदेखि सञ्चालनमा रहेका कतिपय मेसिन र प्रविधिका कारण सिमेन्ट उत्पादनमा ह्रास आउन थालेपछि मर्मतसम्भार तथा अपग्रेडिङ अभियानअन्तर्गत नयाँ योजना ल्याउन लागिएको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताउनुभयो ।उद्योगले प्लान्टमा जडान गरिएको रोटरी किलको सेलमा आएको खराबीलाई परिवर्तन गर्ने र रिइन्फोर्समेन्ट सस्पेन्सन प्री हिटर सिस्टम (आरएसपी) जडान गर्न लागेको हो । त्यसका लागि उद्योगले फागुन १५ गतेभित्र सम्पन्न गर्नेगरी रोटरी किल मिलको २० मिटर सेल फेर्न छ करोड आठ लाखमा टेन्डर प्रक्रियाद्वारा सम्झौता गरिसकेको महाप्रबन्धक न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी रिइन्फोर्समेन्ट सस्पेन्सन प्री–हिटर सिस्टमका लागि भने नयाँ मेसिन जडान गर्न लागेको हो । यसबाट हाल भइरहेको करिब ३० प्रतिशतको क्यालिसनेसनलाई बढाएर ९० प्रतिशतसम्म पु¥याउने सकिने न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसका लागि विज्ञ जनशक्ति नियुक्तिको प्रक्रिया पूरा भएकाले यी दुवै नयाँ योजना चालू आर्थिक वर्षभित्र सम्पन्न हुनेछ । ”
उहाँका अनुसार यसबाट हालको ८०० मेट्रिक टन उत्पादन क्षमतामा दैनिक ३०० मेट्रिक टन वृद्वि भई दैनिक एक हजार १०० मेट्रिक टन सिमेन्ट उत्पादन हुन्छ । यसबाट वार्षिक एक अर्ब १० करोड रुपियाँ बराबरको सिमेन्ट उत्पादन र बिक्री भई करिब २५ करोड रुपियाँ राजस्व थप जम्मा गर्न हुनसक्छ ।
उद्योग सुधारका लागि अगाडि सारिएका यी दुवै योजनालाई मूर्त रूपमा लैजान सञ्चालक समितिले पारित गरेको ५० करोडको बजेटमध्ये १० करोड रुपियाँ आन्तरिक स्रोतबाट र ४० करोड रुपियाँ तीन वर्षभित्रमा तिर्ने सर्तमा नेपाल सरकारसँग ऋण माग गरिएको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयले ऋण सहयोग स्वीकृति दिएलगत्तै दुवै प्रविधि जडान हुने र उद्योगले गति लिनेछ ।
पुरानो मेसिन मर्मतसम्भार गरी चलाउँदा बारम्बार समस्या आइरहने र पटकपटक मर्मत गरिरहनुपर्ने हँुदा बर्सेनि धेरै रकम खर्च गर्नुपर्ने भएकाले अब प्लान्टको सिस्टममै सुधार गर्न लागिएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले बताउनुभयो । क्षमताअनुसार उद्योग सञ्चालन नहुँदा उद्योगलाई दैनिक आर्थिक व्ययभार थपिँदै गएको उहाँको भनाइ छ ।
यसैबीच अवकाश भएका कर्मचारीलाई पछिल्लो एक महिनामा मात्रै दुई करोड २३ लाख रुपियाँ भुक्तानी दिइएको छ । सेवानिवृत्त भएको छ महिनासम्म पनि पाउने सुविधा नपाएको गुनासो बढ्न थालेपछि उद्योगले रकम भुक्तानी गरेको हो । बर्सेनि कर्मचारीको उपदान र औषधि उपचार कोषमा जम्मा गर्नुपर्ने रकम यसअघिको उद्योग व्यवस्थापनले नियमित जम्मा नगरिदिँदा अवकाशप्राप्त कर्मचारीलाई भुक्तानी दिन समस्या भएको प्रवक्ता पोखरेलको भनाइ छ ।