logo
२०८२ भाद्र ६ शुक्रवार



ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सुरु

अर्थ |


ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सुरु


गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ३ गते। ग्रामीण बजार सम्पर्क विस्तार गरी कृषि क्षेत्रलाई सुदृढीकरण गर्ने र कोभिड–१९ पछि पुनर्लाभ हासिल गर्न रोजगारी सिर्जना गर्ने उद्देश्यसाथ ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना (आरईईडी) सुरु भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र विश्व बैङ्कको संयुक्त पहलमा सञ्चालन हुने परियोजनाको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपाल, मालदिभ्स र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले बिहीबार सुरु गर्नुभएको हो।

परियोजनाका लागि विश्व बैङ्कले ८० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने छ। आगामी चार वर्षमा उत्पादक, वित्तीय निकायहरू र स्थानीय सरकारबाट पनि थप लगानी हुने अपेक्षा गरिएको कृषि मन्त्रालय र विश्व बैङ्कद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
परियोजनाको थालनी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले नेपालको कृषि क्षेत्र रूपान्तरण र कोभिड–१९ को सन्दर्भमा पुनर्लाभका लागि साना किसान, कृषक समूह र सहकारी क्षेत्रको बजार सम्पर्क सुनिश्चितता हासिल गर्न र महामारीले आर्थिक क्षेत्रमा पारेको असर कम गर्न सहयोगी हुने बताउनुभयो। उहाँले यस परियोजनाले साना कृषि उद्यमी तथा किसानको आयस्तर बढाउन र कृषि उद्यमशीलता बढाउन र रोजगारी सिर्जना गर्न पनि सहयोग गर्ने बताउनुभयो।

नेपाल, मालदिभ्स र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले परियोजनाले नेपालमा हरित, उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने र कृषि क्षेत्रको ब्रान्ड निर्माणका लागि सरकार र निजी क्षेत्रलाई अवसर प्रदान गर्ने बताउनुभयो।
परियोजनाले कफी, चिया, औषधिजन्य उत्पादन लगायतका क्षेत्रलाई उत्प्रेरणा गर्दै महामारीबाट उत्थानका लागि सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो।
रिड परियोजना प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिमका पाँचवटा प्रदेशलाई समेट्ने गरी पाँच आर्थिक कोरिडोरमा चयन गरिएको नगरपालिकाहरूमा सञ्चालन गरिने जनाइएको छ।
परियोनजनाबाट पाँच हजार सात सयभन्दा बढी रोजगारी सिर्जना हुने पनि उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?