गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी संस्थाहरूलाई सन्दर्भ ब्याजदरभन्दा बढी नलिन निर्देशन दिनुभएको छ । सहकारी संस्थाप्रति जनगुनासो बढ्दै गएको चर्चा गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “सहकारीका आधारभूत सिद्धान्त आत्मसाथ गरी संस्थागत सुधारको पहल गरिनुपर्छ । ”
शुक्रबार आयोजित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३०औँ साधारण सभामा सहकारी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउन ‘भिजन पेपेर’ ल्याउन लागिएको जानकारी दिनुभएको छ ।
नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले सहकारी अभियानले सैद्धान्तिक पक्षको गतिशीलता, नैतिक पक्षको नेतृत्व र उच्च प्राविधिक पक्षको सामथ्र्यलाई अभियानको आदर्श बनाइएको बताउनुभयो ।
चार हजार १४६ सदस्य सङ्ख्या रहको नेफ्स्कुनको जम्मा सम्पत्ति २४ अर्ब ३० करोड चार लाख छ हजार ७९६ रुपियाँ रहेको छ । कुल सेयर पुँजी एक अर्ब ४५ करोड, ८७ लाख रुपियाँ रहेको छ ।
सदस्यको बचत निक्षेप २१ अर्ब, ७९ करोड ५२ लाख एक हजार ४६ रुपियाँ छ । बचतमा प्रदान गरिएको औसत ब्याजदर ५.०१ प्रतिशत र ऋणमा औसत ब्याजदर ८.९४ प्रतिशत लिइएको नेफ्स्कुनले जनाएको छ ।
पत्रकार दर्नाललाई सम्मान साधारण सभाको अवसरमा नेफ्स्कुनले सहकारी क्षेत्रमा मिडियामार्फत योगदान पु¥याएबापत गोरखापत्र दैनिकका संवाददाता लक्ष्मण दर्नाललाई पुरस्कार तथा सम्मान गरेको छ । त्यसैगरी नेफ्स्कुनले उत्कृष्ट शाखाहरू लगायत सहकारी अभियन्तालाई पनि सधारण सभामा सम्मान गरेको छ ।