काठमाडौँ, मङ्सिर ४ गते । अर्थमन्त्री जनार्दन शर्माले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताउनुभएको छ । शनिबार नेकपा (माओवादी केन्द्र) पाँचथर–काठमाडौँ जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्ने बताउनुभएको हो ।
मन्त्री शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण रहेको बताउनुभयो । ‘गरिबी अन्त्य गर्ने र सामाजिक न्याय स्थापित गर्नु आजको प्रमुख कुरा हो’, उहाँले भन्नुभयो, ‘सामाजिक न्याय स्थापित गर्दै त्यसमा आधारित भएर हामीले समुदायलाई बलियो बनाउनुपर्छ ।’
उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । ‘उत्पादनका साधन र स्रोतमाथि सामुदायिक स्वामित्व स्थापना गर्नुपर्छ’, मन्त्री शर्माले भन्नुभयो, ‘ त्यसबाट मात्रै समाजवादको आधार तयार हुनसक्छ ।’समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई सँगै अगाडि बढाउनुपर्नेमा शर्माले जोड दिनुभएको छ ।
पार्टी कमिटीले उत्पादन र रोजगारीको क्षेत्रमा नेतृत्व गर्नुपर्ने र सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानसमेत सँगसँगै लानुपर्ने उहाँको भनाइ छ । मन्त्री शर्माले समाजवाद नेपालको भूगोल तथा सामाजिक संरचनाका आधारमा निर्माण गरिनुपर्ने उल्लेख गर्नुभयो ।
पछिल्लो समय चुनाव प्रणाली खर्चिलो भएको उल्लेख गर्दै मन्त्री शर्माले माओवादीले पुनः पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई अघि सानुपर्ने धारणा राख्नुभएको छ । पार्टीले विगतदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा उठाएको भन्नुहुँदै शर्माले पुनः त्यसलाई पार्टीले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
‘यो देशलाई जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यक छ’, मन्त्री शर्माले भन्नुभयो, ‘ त्यसले कम्तिमा पनि पाँच वर्ष आफ्नो भिजन कार्यान्वयन गर्न पाउनेछ ।’