logo
२०८२ भाद्र ६ शुक्रवार



बाँसका हस्तकलाले पाएन बजार

अर्थ |
प्रदेश |


बाँसका हस्तकलाले पाएन बजार
सामुदायिक वनको भवनमा बाँसका सामाग्रीहरु



गोकर्ण पौडेल
तुलसीपुर, मङ्सिर ६ गते । सामुदायिक वनका उपभोक्ताहरुले बनाएका बाँसका हस्तकला सामग्रीले बजार पाएको छैन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको पकर्रे सामुदायिक वनको भवन कोठामा बाँसका विभिन्न सामाग्रीहरु असरल्ल अवस्थामा छन् । तुलसीपुर १९ मा रहेको पकर्रे सामुदायिक वनको भवनमा पकर्रे र कालिका मालिका किसान जलुके सामुदायिक वनका उपभोक्ताहरुले १५ दिनसम्म बाँसका विभिन्न सामग्री बनाउने तालिम सिके । सीपलाई तालिममा मात्रै सीमित राखेनन्, त्यसलाई व्यवहारमा समेत उतारे । सीप सिकेका मध्येकी एक हुनुहुन्छ कृष्णमति पुन । ‘ १५ दिनसम्म तालिम सिकियो त्यसपछि दुई महिनासम्म सामग्री बनायौँ । अहिले ती सामग्री विक्री नै भएका छैनन् ’– पुनले भन्नुभयो –‘बाँस किन्न परेको छैन, तर बाँसबाहेक अन्य सामान किन्नुपर्छ, सामान नै विक्री नभएपछि कहाँबाट किन्ने ? ती सामान टाँस्नका लागि गम, रङ्गरोगनका सामग्री किन्नुपर्छ, सामग्री नै विक्री नभएपछि कहाँबाट किन्ने । पहाडमा छँदा बाले छिट्वा बनाएको हेरेर छिट्वा बनाउन सिकेकी थिएँ, अहिले त बाँसका मुढा, कलमदानी, चुरीदानी, स्ट्रे, मन्दिर, घडी फ्रेम, तस्बिर फ्रेम बनाउन सिकेँ, पुनले भन्नुभयो ।

कृष्णमति पुनजस्तै १६ जना महिला र चार जना पुरुषहरुले पन्ध्र दिनसम्म बाँसका कलात्मक सामग्री बनाउन सिक्नुभएको थियो । सीप सिकेकाहरुले पकर्रे कालिका कृषि वन उद्यमी समूह  गठन गरेका छन् । समूहका अध्यक्ष रेवती विश्वकर्माका अनुसार अहिले बस्नका लागि बनाइएका बाँसका मुढा ४० वटा, घडी र तस्बिर फ्रेम २० वटा, गमला १५ वटा, कलमदानी १५ वटा, मन्दिर चार वटा, स्टे १० वटा, चुडादानी १० वटा रहेका छन् । अध्यक्ष विश्वकर्माले भन्नुभयो ‘सामान त बनायौं तर विक्री भएका छैनन्, केही सहयोगी संस्थालाई उपहार दियौँ, केही सामुदायिक वनको भवनमा छन् ’ अध्यक्ष विश्वकर्माका अनुसार अनुगमनमा आएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उत्पादन भएका वस्तुहरु विक्री वितरणका लागि तुलसीपुरमै कोशेली घरका लागि कोठा र दुई जना जनशक्ति उपलब्ध गराउने आश्वासन दिनुभएको थियो । समूहले ती वस्तुको मूल्यसमेत निर्धारण गरेको छ । समूहका अध्यक्ष रेवति विश्वकर्माका अनुसार प्रति मुडा पाँच सय, फ्रेमको दुई सय, मन्दिरको तीन हजार रुपियाँ मूल्य तोकिएको छ । त्यसैगरी, कलमदानी र स्टे«को मूल्य एक सय तोकिएको छ ।
पकर्रे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर रोकाका अनुसार बाँसका सामग्री बनाउनका लागि सामुदायिक वनले बाँस भने निःशुल्करुपमै उपलब्ध गराएको छ । सामुदायिक वनले ती सामग्री बनाउनका लागि कोठा समेत उपलब्ध गराएको छ । ग्रीन फाउन्डेशन र वन महासंङ्घले तालिम दिएका थिए ।
तालिममात्रै होइन उपभोक्ताहरुलाई उद्यमशील बनाउनका लागि पकर्रे र कालिका सामुदायिक वनमा १३ सय बेतप्रजातिका बास रोपिएको ग्रीन फाउण्डेशनका सुरेश रावतले जानकारी दिनुभयो । रावतका अनुसार उत्पादन गरिएका वस्तुहरुको बजारीकरणको व्यवस्थापन सम्बन्धित संस्थाहरुले गर्ने र सामानहरुको बजारीकरण, व्यवस्थापनका लागि थप तालिम माग भएकाले तत्कालै तालिमको व्यवस्थापन गर्ने रावतले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?