logo
२०८२ भाद्र ६ शुक्रवार



आर्थिक पुनरुत्थानमा निजी क्षेत्रको भूमिका धेरै

अर्थ |


आर्थिक पुनरुत्थानमा निजी क्षेत्रको भूमिका धेरै


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ९ गते । अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रले अझै धेरै भूमिका खेल्न सक्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको हो ।
नाफिजले प्रकाशन गरेको आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचन तथा आर्थिक पत्रकार केशव गौतमको सम्मान गर्दै मन्त्री शर्माले कोभिड–१९ पछि खस्किएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन तथा विकास निर्माण तथा आर्थिक समृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सँगसँगै हिँड्न तयार रहेको बताउनुभएको हो ।

मुलुकको विकास विकासका लागि साधन स्रोतको कुनै कमी नभएको मन्त्री तर व्यवस्थापकीय क्षमताको अभाव रहेको शर्माले औँल्याउनुभयो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको व्यवस्था सीडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको स्पष्ट पार्नुभयो । “सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कार्यान्वयन गरेर वित्तीय संस्थाहरू बचाएका छौँ । मुलुकको वित्तीय सही दिशामा रहन मद्दत पुगेको छ,” अधिकारीले भन्नुभयो, “सीमित समूहलाई नकारात्मक प्रभाव परेको हुनसक्छ तर त्यसलाई हेरेर हुन्न, हामीले समग्र अर्थतन्त्रलाई हेर्नुपर्छ । ”

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्राडा शिवराज अधिकारीले सरकार र निजी क्षेत्रबीचको असमझदारीको खाडल पुर्न सकेमा तीव्र विकास र आर्थिक पुनरुत्थान सम्भव रहेको औँल्याउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालको वित्तीय क्षेत्रमा ब्याजदरको अस्थिरताले लगानी निरुत्साहित भएको औँल्याउनुभएको थियो । उहाँले एमसीसीका परियोजना तत्काल अनुमोदन गरेर कार्यान्वयनमा ल्याउन ढिलाइ गर्नु नहुने धारणा राख्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिले बजारमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या समाधान गरेर लगानीयोग्य रकम सिर्जना गर्नु अपरिहार्य रहेको भन्दै राष्ट्र बैङ्कको ध्यानाकर्षण गर्नुभएको थियो ।
नेपाल उद्योग परिसङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले आर्थिक पुनरुत्थानको क्षेत्रमा सरकार र निजी क्षेत्रले आवश्यकताअनुरूप सक्रियता देखाउन नसकेको आँैल्याउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?