एकिन्द्र तिमिल्सेना
टीकापुर (कैलाली), मङ्सिर १३ गते । कञ्चनपुरको पुनर्बास नगरपालिकाका भरतलाल विश्वकर्माले कैलालीको टीकापुर नगरपालिका–७, सत्तीमा तिलगङ्गा बेतबाँस उद्योग सञ्चालनमा ल्याउनुभएको छ । कैलालीस्थित सत्ती कर्णाली सामुदायिक वनले बेतलाई खेतीका रूपमा उत्पादन गरी नियमित आपूर्ति हुन थालेपछि यहाँ उद्योग खुल्न थालेका हुन् । बेतलाई अर्को जिल्लामा लैजान वनसम्बन्धी कानुनले झन्झटिलो बनाएकाले पुनर्बासका भरतलाल वन नजिकै उद्योग खोलेर बस्नुभएको हो ।
साढे आठ वर्ष मलेसिया बस्दा बेतबाँसका सामान बनाउन सिकेका भरतलालले मलेसियामै रहँदा नेपाल पुगेपछि बेतकै काम गर्ने सोचसाथ मेसिनका सबै पार्टपुर्जाका फोटो खिचेर राख्नुभएको थियो । नेपाल फर्केपछि मेसिन बनाउन एक वर्ष लागेको र पछि उद्योग सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
भरतलालको उद्योगमा बेतका सामग्री बनाउनुुअघि बेत खुर्किने, चोया निकाल्ने र चोया सफा गर्ने तीनथरी मेसिन प्रयोग भएका छन् । मलेसियामा बनेका चोया भारतको कोलकातासम्म आएको देखेका भरतलालले आफूले बनाएका मेसिन कसैलाई नदिने बरु चोया निकालेर भारतका र अन्य उद्यागीलाई प्रतिकिलो ८०० रुपियाँमा बेच्ने गरेको बताउनुहुन्छ ।
भरतलाल आफू मेसिन चलाउनुहुन्छ, उहाँकी श्रीमती बेतका सामान बनिसकेपछि रङ लगाउनुहुन्छ । उद्योगमा दैनिक १० देखि १२ जनाले काम गरिरहेका छन् । १२ लाखजतिको लगानीमा सुरु भएको भरतलालको उद्योगमा राम्रो काम गर्ने कर्मचारीले मासिक ४० हजार रुपियाँसम्म कमाइरहेका छन् ।
सुरुमा सिक्न आएका व्यक्तिहरू नै सिकिसकेपछि उत्पादन गरेअनुसार पारिश्रमिक पाउनेगरी काम गरिरहेका छन् । मलेसियामा मासिक ७० हजार तलब पाएका भरतलाल आफ्नै देशमा पनि त्यत्तिको कमाइ भइरहेकामा खुसी हुनुहुन्छ ।
टीकापुर बजारमै रहेको अनुज बेतबाँस उद्योगले पनि सामग्री उत्पादन गरी बजारमा ल्याएको छ । धनगढी उपमहानगरपालिका फूलबारीका दिलकुमार र अनिता चौधरीले यो उद्योग सञ्चालनमा ल्याउनुभएको हो । १२ वर्षजति दिल्लीको एक आर्ट ग्यालरीमा फोटो फ्रेमिङको काम गर्नुभएका दिलकुमारले नेपाल फर्केपछि सात वर्षअघि २५ हजार जतिको लगानीमा बेतको मुढा, टोकरी र ऐना फ्रेमिङ सुरु गर्नुभएको थियो । अहिले बेतका १५ भन्दा बढी सामान उत्पादन भइरहेका छन् ।
दिलकुमारले घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम पाएपछि यस क्षेत्रमा प्रशिक्षकका रूपमा काम गर्नुभएको छ । श्रीमती अनिता चौधरी पनि श्रीमानसँगै सिकेर अहिले प्रशिक्षक बन्नुभएको छ । श्रीमान श्रीमती दुवैसँगै काम गर्नुहुन्छ, दुवै प्रशिक्षक भएकाले कुनै संस्थाले बोलाएमा आलोपालो प्रशिक्षकको काम पनि गर्नुहुन्छ । दिलकुमारको उद्योगमा सात जनाले दैनिक काम गरिरहेका छन् । दिलकुमार र अनिताको उद्योगमा मेसिन नभएकाले उत्पादन भने ढिलो छ ।
कैलालीका बेतबाँस उद्योगहरूले ३०० रुपियाँ पर्ने मुढादेखि कुर्सी, फूलदानी, ह्याङ्गर, ¥याक र ५० हजार मूल्य पर्ने सोफासेटसम्मका सामान उत्पादन गरिरहेका छन् । कैलालीका टीकापुर, धनगढी, अत्तरिया र सुखडमा १३ वटा जति बेतबाँसका सामग्री बनाउने उद्योग चलेका छन् । यहाँ उत्पादिन बेतका सामान नेपालगञ्ज, दाङ, बुटवल, काठमाडौँलगायतका बजारमा जाने गरेका उद्योगी बताउँछन् । पानी (मसिनो) बेत यही प्राप्त भए पनि बेतका सामग्री बनाउँदा आवश्यक पर्ने राइडिङ र फेग्रा जातको मोटो बेत भने अहिले पनि भारतबाटै आइरहेको छ । नेपालको वन प्रशासन वा सामुदायिक वनले मोटो बेत पनि यही विस्तार गर्नसके सहज हुने व्यवसायीको भनाइ छ ।
पछिल्लो समय वन कटानी भई काठको अभाव बढ्दै गएकाले निरन्तर उत्पादन हुने बेतका सामान उपलब्ध हुँदै आएका छन् । गर्मीमा नतात्ने, चिसोमा धेरै नचिसिने भएकाले पनि उपभोक्ताको रोजाइमा बेतका कुर्सी, सोफासेट पर्न थालेका छन् । बेतका सामान पानीबाट जोगाउने हो भने २० देखि २५ वर्षसम्म चल्ने व्यवसायी बताउँछन् । टीकापुर नगरपालिका ब्लक नम्बर १२ का मोहनबहादुर साउद बेतबाँसका सामग्री मानव स्वास्थ्यका लागि लाभदायक, सस्ता र आकर्षक भएकाले एकदमै रुचाइएका हुनसक्ने बताउनुभयो ।
सत्ती कर्णाली सामुदायिक वनका कोषाध्यक्ष मनिराम ढुङ्गाना उपभोक्तालाई प्रतिकिलो ४५ रुपियाँ र उद्योगलाई प्रतिकिलो ६५ रुपियाँ दरले बेत उपलब्ध भइरहेको बताउनुहुन्छ । उहाँले वर्षमा एक हजार ५०० क्विन्टलजति बेत सङ्कलन हुने र त्यसबाट क्विन्टलजति बेत स्थानीय उद्योगहरूमा जाने गरेको बताउनुभयो ।